बुटवलमा मोटरसाइकल जुधेर भएको दुर्घटनामा बाबुछोराको मृत्यु

बुटवल । बुटवलमा दुई वटा मोटरसाइकल ठोक्किएर भएको भएको दुर्घटनामा बाबु(छोराको मृत्यु भएको छ। बुटवल बेलवासमा बुधबार दिउँसो भएको उक्त दुर्घटनामा बुटवल उपमहानगरपालिका–१३ बेलवासकै ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार बुधबार दिउँसो बेलवास चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटनामा परेका थिए।

उक्त दुर्घटनामा परेपछि लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ क ४४२४ नम्बरको ट्यांकरमुनि परेको थियो। दुर्घटनाबाट गम्भीर घाइते बाबुछोरालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो। लु ४८ प ३२४६ नम्बरको मोटरसाइकलमा सवार बुटवल–१३ का १५ वर्षीय आयुष आचार्य र पाल्पा रामपुर २ का २३ वर्षीय अमृत सुनारी मगर घाइते भएका छन्।