बुटवल । बुटवलको जंगलमा दम्पत्ति मृत अवस्थामा भेटिएका छन् । बुटवल उपमहानगरपालिका–७ शिवनगर सामुदायिक वनमा बुटवल ११ बस्ने ६० वर्षीय काजीमान श्रेष्ठ र उनकी पत्नी ५५ वर्षीया कमला श्रेष्ठको शव भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीका अनुसार आइतबार दम्पत्तिको शव भेटिएको हो।
उनीहरु चैत ६ गते गोरखामा आफन्त भेट्न भन्दै घरबाट हिँडेको तर, घर नफर्किएपछि खोजी गर्दै जाँदा आइतबार शव भेटिएको डीएसपी केसीले बताएका छन् । उनीहरुले विष खाएको अनुमान गरिएको छ । घटनास्थलमा तन्ना ओछ्याएर खाने बस्ने गरेको समेत पाइएको छ । यस विषयमा थप अनुसन्धान सुरु गरेको समेत प्रहरीको भनाई छ । छोरा वैदेशिक रोजगारीमा रहेको र घरमा बुहारी र छोरीसँग बस्दै आएको खुलेको छ।