सुदर्शन केसी (सान) । राजधानीको आसपासमा उचाईमा रहेका पर्यटकीय आकर्षणका केन्द्रहरु दुर्ब्यसनीको अखडा बन्न थालेसँगै स्थानीयमा त्रास बढेको छ । काठमाडौं बुढानिलकण्ठ नगरपालिकास्थित विभिन्न धार्मिक तथा पर्यटकिय स्थलमा आन्तरिक पर्यटकको रुपमा लागु औषध दुर्ब्यसनीको जमात बढन थालेसँगै स्थानीयमा त्रास बढेको हो । लागु औषध प्रयोगकर्ता, अनैतिक क्रियाकलाप र मादक पदार्थ सेवन गरि अनेक हर्कत देखाउने जमात बढ्दा स्थानीयमा आक्रोस बढेको हो ।
यसले कपन क्षेत्रमा हरेक दिन लुटपाट, चोरी , सडक दुर्घटना र ग्यांग फाइटका
घटना समेत बढ्दै गएका छन् । स्थानीयहरुका अनुसार स्थानीय संरचनामा क्षति गर्ने, टेलिफोनको तार चोर्ने सम्मका गतिविधि बढेका छन् । जगडोलस्थित स्थानिय झण्डा पार्कमा बसेर रातको एक दुई बजे सम्म होहल्ला गर्दा स्थानीयलाई सास्ती बढेको जगडोलका स्थानीय बासिन्दा राम प्रसाद पौडेलले बताए ।
बुढानिलकण्ठ नगरपालिका अन्तर्गत साबिक कपनका प्रसिद्ध गुम्बा मन्दिर पार्क वरिपरीका स्थानमा अहिले आन्तरिक पर्यटकको घुँइचो बढेको छ । तर, पर्यटकको भेसमा अवान्छित गतिविधि गर्नेहरु बढेपछि भने स्थानीयमा चिन्ता बढेको हो । बिहान र साँझ वाकिङ गर्ने र सामान्य घुमघाम गर्ने देखि काठमाडौं उपत्यका, चागु , बौद्ध , स्वयम्भू , शिवापुरी , बुढानिलकण्ठ लगायतको मनमोहक दृस्य हेर्न समेत यो स्थान धेरैको रोजाइमा परेको छ ।
एक्लै हिड्न डराउँछन् स्थानीय
लागु औषध र मदिरा सेवन गरि भिड जमाएर बस्नेहरुका कारण यो क्षेत्रमा स्थानीयलाई एक्लै हिँड्न समेत डर लाग्ने भएको छ । साझ, बिहान स्थानीयले एक्लै हिड्न पनि मुस्किल भएको पौडेलले जानकारी दिए । उनका अनुसार मोटरसाईकल स्ट्न्ट गरेर डाँडोमा उडाउउने देखि झण्डा पार्कको डिलमा बसेर गाँजा तान्नेहरुको जमात बढेको छ । बढ्दो आन्तरिक पर्यटनलाई रचनात्मक ढङ्गबाट सेवा पुर्याउन तथा पर्यटनबाट लाभ लिन यस क्षेत्रमा केही राम्रा रिसोर्ट र रेस्टुरेन्टहरु खुलेको भए पनि स्थानियहरुले भने यस्ता भिडबाट प्रत्यक्षरुपमा कुनै फाईदा लिन नसकेको गुनासो गर्छन् ।
स्वादिस्ट खानपान र बास सहितका यी रिसोर्टहरु अलि टाढाका पर्यटकहरुको गन्तब्य बन्न पुगेको छ । स्थानियले भने रिसोर्ट र रेस्टुरेण्टबाट समेत रोजगारी तथा अन्य कुनै फाईदा लिन सकेका छैनन् । केही सिमित व्यवसायीलाई यो क्षेत्रको आन्तरिक पर्यटनले प्रत्यक्ष फाइदा पुर्याए पनि पर्यटकको भिड भित्र लागु औषध दुर्ब्यसननी बढेपछि स्थानियमा त्रास बढेको झण्डा पार्क छेउमा नै घर भएका एक स्थानिय बताउछन् । उनी भन्छन्, अब त गाँऊका मान्छे त्यो पार्कको बाटो हिंड्न नसकिने भइयो । उनका अनुसार युवा युवती आपत्तिजनक अवस्थामा भेटिनु सामान्यजस्तै भएको छ । रातको दुई बजे सम्म गाँजा तान्नेहरुको झुण्ड पार्कमा बसेको हुन्छ ।

प्रभावहिन गस्ती
झण्डापार्कमा पहल बढेपछि गाउँलेहरुले यहाँ पालो पालो गस्ती गर्थे । तर यसले गाउँले कै जिउज्यान असुरक्षित हुन पुगेपछि प्रहरी गुहारिएको थियो । थोरै दरबन्दी भएको प्रहरीको टुकुडी पनि शहिद पार्कको गेटमा यस्ता व्यक्तिबाट आक्रमणमा परिसकेको छ । त्यसपछी प्रहरीले समेत यहाँ गस्ती रोकेको छ । जगडोल झण्डा पार्क असुरक्षित भए पछी स्थानिय क्लब जगडोल युवा क्लब तथा गाँऊलेहरुले संयुक्त रुपमा वडा अध्यक्ष राजु अधिकारीसँग सि सि क्यामरा बत्ती र फोहोर फाल्ने डस्ट बिन माग गरेका थिए ।
तर, वडाबाट यसमा कुनै काम नभएको क्लबका अध्यक्ष संजय पौडेलले बताए । घुम्ने बहानामा आउने यस्ता भिडबाट गाउँ असुरक्षित बन्दै गएपनि प्रशासनले कुनै पहल लिन नसकेको उनको भनाई छ । पार्कमा आउनेहरुसँग पार्किङ शूल्क लिएर व्यवस्थित गर्न सके मात्र पनि स्थानीयले निजी सुरक्षा गार्ड राख्न सक्ने उनी बताउँछन् । यसले रोजगारी पनि सिर्जना हुने उनको भनाई छ । वडाले सहमति दिए मोटरसाईकल र कार पार्किङको शूल्क उठाइने उनले बताए ।
केही समय अगाडी दिलिप थापा मगर लगायत युवा कपन गुम्बा छेउको खाली जग्गामा हुने यस्ता समस्या लिएर वडा कार्यालय तथा कपन चौकीमा समेत पुगेका थिए । हाल उनीहरुको सकृयतामा , सिभिल प्रहरी , गस्ती प्रहरी समेतले निगरानी राखी अनैतिक गतिविधिमा लाग्नेलाई सम्झाउने बुझाउने र अटेर गरेलाई कारबाही समेत हुन थाले पछि केही न्यूनीकरण भएको बताइएको छ । चेतना मुलक पोस्टर , पम्प्लेटको ब्यबस्था गर्ने , युवाहरुलाई गाइड गर्ने, अभिभावकलाई सजक तुल्याउने जस्ता कार्यक्रम स्थानीय सरकारले ल्याउनु पर्नेमा स्थानीयको माग छ ।
भविश्यका कर्णधारको दयालाग्दो दृष्य
घुम्न आउनेहरु विभिन्न उमेरका हुन्छन् । तर, यहाँ युवापुस्ताको अवस्था भने दयालाग्दो देखिने गरेको स्थानीयहरु बताउँछन् । लागू पदार्थ सेवन गरि झालझुलमा झुलिरहेका, मादक पदार्थ सेवन गर्दै वोतल फुटाउने , अपशब्द बोल्ने, महिलाहरुलाई जिस्काएर अभद्र व्यबहार गर्ने, सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड गर्ने, झैझगडा र हुलदङ्गा गर्नेहरु अधिकांश युवा उमेरका मानिस छन् । स्थानीय ज्योती के सीले सिर्जनात्मक गतिविधि गर्दै आफ्नो करियर र सामाजिक विकासमा लाग्नु पर्ने युवा यसरी दुर्ब्यसनीमा फस्नु भनेको समाज नै खराब बन्दै जानु भएको बताउँछन् । देखेर नदेखै झै गरि हिड्नु , मेरा बाल बच्चा होइनन अरु कै त हुन भनी बेवास्ता गर्नाले भोलि स्थानीयका युवा युवतीमा समेत यस्तो दुर्ब्यसनीको लत बस्ला भन्ने पिर स्थानीयमा छ ।
वडाको प्रतिक्रिया के छ ?
बुढानिलकण्ठ ११ का वडा अध्यक्ष राजु अधिकारीका अनुसार सो क्षेत्रमा उछृङ्खल गतिविधि बढ्दै गएको गुनासो स्थानीयबाट धेरै नै आएको छ । यस्ता गतिविधि रोक्न स्थानीय तथा सुरक्षा निकायसङ्ग औपचारिक छलफल गरि छिट्टै योजना बनाएर काम गर्ने प्रतिवद्धता उनले जनाए । पर्यटन र पर्यावरण विकासको साथै यसको चुनौतीको सामना गर्न वडाले महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने स्थानीयको मागमा आफु सहमत रहेको उनको भनाई छ ।