बुद्ध एयरको जहाज अवतरण हुन नसक्नुमा पाइलटको कमजोरी ?

File

काठमाडौं । गत साता काठमाडौंबाट विराटनगर पुगेको बुद्ध एयरको जहाज काठमाडौं फर्काइएको विषयमा कम्पनीले पाइलटको कमजोरी रहेको निष्कर्ष निकालेको छ । ल्याण्डिङ गियरमा समस्या आएको भन्दै पाइलटले विराटनगरमा पुगेर पनि जहाज काठमाडौं फर्काएका थिए । तर, इण्डिकेटरले संकेत गर्दा गर्दै जहाज अवतरण नगराएर बाह्य स्रोतमा भर पर्दा पाइलट अलमलमा परेको बुद्ध एयरले आन्तरिक रुपमा गरेको जाँचबुझ रिर्पोटले देखाएको छ ।

सोमबार यो रिर्पोट नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको बुद्ध एयरले जनाएको छ । कम्पनीका अनुसार जहाजमा प्राविधिक समस्या देखिएको छैन । जहाजमा ल्याण्डिङ गियर खुलेको देखाउने सेकेन्डरी इण्डिकेटरले स्पष्ट रुपमा काम गरेको थियो । चालक दलले जहाजका लागि तोकिएको प्रोटोकलको पालना गर्नुपर्नेमा त्यसो नगरी बाह्य स्रोत (एयर ट्राफिक कन्ट्रोलर)मा बढी भर परेको देखिएको रिर्पोटको निष्कर्ष छ ।

अघिल्लो साता काठमाडौंबाट विराटनगर पुगेको जहाजमा इण्डिकेटरले ल्याण्डिङ गियर नखुलेको देखाएपछि पाइलट एजी शेर्पाले एटीसीलाई सोधेका थिए । तर, एटीसीले पाङ्ग्रा खुलेको नदेखेपछि सोही रिर्पोटिङ गरेका थिए । त्यसपछि जहाज पाइलटले काठमाडौं फर्काएका थिए । काठमाडौंमा समेत करीब आधा घण्टा फन्को मारी जहाज सुरक्षित अवतरण गरेको थियो । काठमाडौंबाट बाह्य रुपमा हेर्दा पाङ्ग्रा खुलेको देखिएपछि पाइलटलाई जहाज अवतरणको अनुमति दिइएको थियो ।