टेक्सस
२५६५ औं बुद्ध जयन्तिको उपलक्ष्यमा आइतबार बिहान ड्यालसस्थित नेपाली मन्दिरमा बिशेष कार्यक्रम सम्पन्न भएको छ। नेप्लिज बुद्धिस्ट ऐशोसिएसन टेक्सास तथा नेपाली कल्चरल एन्ड स्पिरिचुअल सेन्टरले संयुक्त रुपमा मनाएको उक्त कार्यक्रमका प्रमुख अतिथि डा आशिन आर्यधम्मले “बुद्ध धर्ममा बुद्ध जन्मभूमि नेपालको स्थान उच्च रहेको” उल्लेख गर्नु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि आर्यधम्म ऑस्टिन, टेक्सासस्थित सितागु बुद्ध बिहारका प्रमुख भन्ते हुनु हुन्छा । उक्त अबसरमा श्रद्धेय भन्तेले उपस्थित सबैलाई नवशील प्रदान गर्नुका साथै रत्न सुत्त तथा मेत्ता सुत्तको वाचन र प्रथम ध्यान बिधिको छोटकरीमा व्याबहारिक तालिम समेत दिनु भएको थियो।

एशोसिएसनका अध्यक्ष स्वयम्भू शाक्यले संस्थाको बार्षिक गतिबिधि बारे जानकारी दिंदै बितेको बर्षमा कोभिडको प्रकोप हुँदा हुँदै पनि संस्थाको लक्ष्य अनुसार थुप्रै कार्यक्रम भएको बताउनु भयो। संस्थाको लक्ष्य अनुसार गत बर्ष बिशेष गरी तीन विधा; नेपालको पारम्परिक बौध धर्म, विपश्यना तथा समता ध्यान र ध्यानको वैज्ञानिक उपयोगितामा केन्द्रित रहेर विभिन्न कार्यक्रम भएको अवगत गर्नु भयो।
यस्तै सेन्टरका सचिब छवि चापागाईले यूलेसमा निर्माण हुने नयाँ मन्दिरको बारेमा जानकारी दिंदै सबैको सहयोगको लागि अपिल गर्नु भएको थियो।
यस्तैगरी एशोसिएसनका सचिव डा नीरज बज्राचार्यले धन्यवाद ज्ञापनका क्रममा भंतेको उपस्थितिले कार्यक्रम भब्य भएको भन्दै आभार ब्यक्त गर्नु भएको थियो । साथै भन्ते आर्यधम्म ध्यानविधिमा विशेष दख्खल राख्ने गुरु भएको हुँदा वहाँ तथा वहाँ आबद्ध सितागु बुद्ध बिहारसंग भबिस्यमा सहकार्य गर्ने जानकारी पनि गर्नु भएको थियो।
उक्त कार्यक्रममा यूलेसमा निर्माण हुने स्वयम्भू चैत्यमा प्रतिस्थापनार्थ पांच वटा बुद्ध मुर्ति क्रमशः मकर बज्राचार्य, स्वयम्भू शाक्य, नीरज बज्राचार्य, महेन्द्र मानन्धर र सुनी शाक्यबाट उपलब्ध हुने जानकारी दिनु भयो। यस्तै ऐशोसिएसनका उपाध्यक्ष शैलेन्द्र मानन्धरका तर्फबाट पांच हजार डलर नगद तथा अन्य भक्तजन हरुबाट पनि मन्दिर निर्माणका लागि चन्दा संकलन भएको थियो।
यस्तैगरि एशोसिएसनका नेवारी बौद्ध पुजारी उत्तम गुरुजुबाट दशापरमिता वाचन पनि भएको थियो।