बुधबारदेखि परेको वर्षा थामियो, बिहीबार दिउँसोबाट घाम लाग्ने

THT

काठमाडौं । बुधबार राती मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावले नेपालको अधिकांश स्थानमा पानी परेको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार दिउँसोबाट मौसममा सुधार हुने छ । अहिलेको यो प्रणाली कमजोर भइसकेको छ । काठमाडौं उपत्यकामा समेत बिहीबार घाम लाग्नेछ । अहिले प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ ।

प्रदेश १ का एक-दुई स्थानमा बिहानपख भएको हल्का वर्षा पनि अहिले रोकिइसकेको विभागका भनाई छ । गएराति काठमाडौं उपत्यकासहित धेरैजसो स्थानमा मेघ गर्जनसहित पानी पनि परेको थियो । उच्च पहाडी र हिमाली भेगमा हिउँसमेत परेको छ । राति पानी परेकाले काठमाडौं उपत्यकामा आज बिहान चिसो बढेको महसुस भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति देशभर बदली हुने छ । शुक्रबार प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहने छ । शुक्रबार राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

माघ १ गते प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १ र बागमती प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ । प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।