काठमाडौं । क्रिप्टोकरेन्सी विज्ञहरूले अहिलेसम्म बेनामे चन्दादाताहरूले युक्रेनलाई कम्तीमा एक करोड ३७ लाख अमेरिकी डलर बराबर बिटकोइन चन्दा दिएको बताएका छन्। बीबीसीका अनुसार अध्ययनकर्ताहरूले युक्रेनी सरकार, गैरसरकारी संस्थाहरू र स्वयंसेवी समूहहरूले इन्टरनेटमा बिटकोइन ठेगाना हालेपछि ती सहयोग दिइएको बताएका छन्।
अहिलेसम्म ४,००० भन्दा बढी पटक चन्दा दिइएको र एक चन्दादाताले एउटा गैरसरकारी संस्थालाई ३० लाख अमेरिकी डलर बराबर बिटकोइन सहयोग दिएका छन्। धेरैले भने ९५ अमेरिकी डलर वरपर चन्दा दिएका छन्। शनिवार दिउँसो युक्रेन सरकारले आधिकारिक ट्विटरमा लेखेको सन्देश यस्तो थियो, ‘युक्रेनको नागरिकलाई साथ दिनूस्। अब क्रिप्टोकरेन्सी चन्दा लिन थाल्यौँ।’
सो ट्टिटरमा क्रिप्टोकरेन्सी ठेगाना राखिएको थियो, जसमा आठ घण्टामा ५४ लाख अमेरिकी डलर बराबर रकम जम्मा भएको थियो। युक्रेनी डिजिटल मन्त्रालयले युक्रेनको सशस्त्र सेनालाई सघाउन सहयोग मागिएको बताए पनि त्यो पैसा कसरी खर्च हुन्छ भनेको छैन।