बेनीन बस दुर्घटनामा मृतकको संख्या २७ पुग्यो

४ भदौ, काठमाडौं । पश्चिम अफ्रिकी देश बेनीनको मध्य भागमा आइतवार बिहान बस नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ भने १६ जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । बेनीनी नागरिक सुरक्षा निकायका निर्देशक अब्देल अजिज बायो जिब्रिलका अनुसार दुर्घटनाको समयमा उक्त बसमा जम्मा ५२ जना यात्रु सवार थिए । सोमबार दिउँसो बसलाई नदीको गहिराइबाट सतहमा ल्याइएको थियो, जसमा २३ जनाको शव फेला परेको उनले जानकारी दिए ।


पछिल्लो समय गरिएको नदी किनारको गस्तीमा थप तीन शव फेला परेका छन् । यससँगै प्रारम्भिक रूपमा मृतकको संख्या २७ पुगेको छ, जसमा आइतवार नै एक शव निकालिएको थियो । दुर्घटनाबाट बाँचेका नौ जना हाल अस्पतालमा उपचाररत छन् भने १६ जना अझै बेपत्ता छन् । जिब्रिलका अनुसार बेपत्ताहरूको खोजी कार्य कम्तीमा थप ४८ घण्टासम्म जारी राखिनेछ । घटनाको विवरण अनुसार बस टोगोको राजधानी लोमेबाट नाइजेरको राजधानी नियामे जाँदै थियो ।

यात्रा क्रममा बसले पुलको पर्खाल ठक्कर दिँदा चालकले नियन्त्रण गुमाएका कारण बस ओउमे नदीमा खसेको आन्तरिक मामिला तथा सार्वजनिक सुरक्षा मन्त्री अलासाने सेइदुले जानकारी दिए । दुर्घटनापछि उद्धार तथा खोजी कार्यमा सरकारी संयन्त्र जुटाइएको छ र अधिकारीहरूले पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।