बेलायतमा आइसोलेसन बस्नुपर्ने नियम हट्ने

काठमाडौं । बेलायतमा कोरोनाबाट बच्न लागु गरिएको आइसोलेसनका नियमहरु हट्ने भएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले सङ्क्रमित घरमै एकान्तमा बस्नु पर्ने नियम लगायत महामारी नियन्त्रणका लागि इङ्ल्याण्डमा बाँकी रहेका सबै प्रतिबन्ध यसै महिनाको अन्त्यसम्ममा हटाइने बताएका हुन् । बीबीसीका अनुसार इङ्ल्याण्डमा अहिले कोभिड सङ्क्रमण पुष्टि भएका व्यक्तिहरू पाँच दिनसम्म घरमा एकान्तबास, आइसोलेशनमा बस्नुपर्छ ।

यस्ता प्रतिबन्ध आगामी मार्च २४ सम्म तोकिएको छ । जोन्सनले सङ्क्रमण घट्दै गए छिट्टै आन्तरिक प्रतिबन्ध हटाउने बताएका हुन् । उनले संसद् अधिवेशन स्थगन भएको समयमा कोभिडसँगै बाँच्ने सरकारको रणनीति तयार गर्न आफूले काम गर्ने जानकारी गराए । संसद् अधिवेशनको मध्यावधि स्थगन पछिको पहिलो बैठकमा कोभिडसँगै बाँच्ने रणनीति लिएर आउने उनले बताए ।

अहिलेजस्तै सङ्क्रमणको तथ्याङ्क उत्साहजनक रूपमा घटेमा सङ्क्रमण पुष्टि भएपछि आफूलाई आइसोलेशनमा राख्नुपर्ने कानुनी बाध्यता सहितका आन्तरिक प्रतिबन्धहरू एक महिना अघि नै हटाउन सकिने उनको भनाई छ । अनवरीको अन्त्यबाट बेलायतमा कोभिड सङ्क्रमण दर ओरालो लागेको छ । यद्दपी दैनिक ५० हजार भन्दा माथि संक्रमण रहेको छ ।