बेलायतमा कोरोनाको विष्फोटक रुप, एकै दिन रेकर्ड ब्रेक ७८ हजारमा संक्रमण पुष्टी

REUTERS\BBC

लण्डन । बेलायतमा कोरोना भाइरसको संक्रमणले पुनः विष्फोटक रुप लिएको छ । बुधवार सो मुलुकमा ७८ हजारभन्दा धेरै मानिसमा कोरोना पुष्टी भएको बीबीसीले जनाएको छ । यो रेकर्ड ब्रेक आंकडा हो । किनकी कोरोना महामारी शुरु भएको दुई वर्ष यता यो मुलुकमा यति धेरै संख्यामा यसअघि संक्रमण पुष्टी भएको तथ्यांक छैन । यसअघि गत जनवरीमा एकैदिनको सबैभन्दा धेरै ६८ हजार सङ्क्रमित पुष्टि भएको थियो । त्यसबेला बेलायतमा लकडाउन थियो ।

तर, अहिले भने बेलायत खुला छ । इङ्ल्याण्डका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस विटिले त्यस्तो रेकर्ड सङ्ख्या आउँदा केही साताहरूमा यो रेकर्ड अझै ब्रेक हुने बताउँछन् । उनले क्रिसमसका कार्यक्रमहरूमा जमघट गर्नुअघि मानिसहरूले महत्त्वपूर्ण के हो भन्ने प्राथमिकता छुट्याउन सक्नुपर्ने सुझाव दिएका छन् । उनीसँगै उभिएर बोलेका प्रधानमन्त्री बोरिस जोनसनले कोभिड खोपको बूस्टर मात्रा लिनु निकै महत्त्वपूर्ण रहेको बताए।

जोनसनले केही ठाउँमा दुई दिनभित्रै सङक्रमितहरू दोबर भइरहेको पाइएको बताए। उनका अनुसार राष्ट्रव्यापी रूपमा अस्पताल भर्ना हुने दर १० प्रतिसतले र लण्डनलमा झण्डै एक तिहाईले बढेको छ । लण्डनमा ओमिक्रोन सबैभन्दा प्रभावी भेरियन्ट बनेको पुष्टी भएको छ ।


प्राध्यापक विटिले यतिखेर बेलायतले एकसाथ दुई छुट्टाछुट्टै प्रकोप झेलिराखेको बताए। त्यो एउटा निकै छिटो फैलिरहेको ओमिक्रोन र अर्को डेल्टा भेरियन्ट रहेको उनको भनाई छ । अहिले भाइरससँग जोडिएका मृत्युहरू भने ह्वात्तै बढेको तथ्यांक छैन । पछिल्ला २८ दिनमा त्यहाँ कोभिड पुष्टि भएकाहरूमध्ये मृत्यु सङ्ख्या १६५ मात्र छ ।