बेलायतमा पेट्रोल आपूर्ति सहज बनाउन सेना परिचालन

REUTERS\BBC

लण्डन । बेलायतमा लामो लाइन र तेल अभावका कारण कैयौँ पेट्रोल पम्प बन्द भएका छन् । यसले खुलेका पम्पमा ठूलो भिड लागेको छ । यो अवस्था सहज बनाउन बेलायतले सेना परिचालन गर्ने भएको छ । बीबीसीका अनुसार सेनालाई तयारी अवस्थामा बस्न निर्देशन दिइएको छ । सेनाका ट्याङ्कर चालकहरूलाई आवश्यक परेको अवस्थामा परिचालन गर्न तालिम समेत दिइने भएको छ । बेलायती व्यापारमन्त्री क्वासी कोर्टनले मुलुकमा पर्याप्त आपूर्ति रहेको भन्दै सेना परिचालनको कदमलाई समझदारी र सावधानीको कदमुका रूपमा व्याख्या गरेका छन्।

तेल आपूर्तिकर्ताहरूले आगामी दिनहरूमा माग सामान्य हुने अपेक्षा गरेको बताएका छन्। तर मोटरीङ्ग ग्रुप आरएसीका अनुसार केही किराना व्यापारीले अवस्थाको फाइदा उठाउँदै मूल्य बढाएका छन्। मन्त्रीहरूले आवश्यकता नभएका मानिसहरूले समेत तेल खरिद गरेका कारण पम्पहरूमा लाइन देखिएको र ती रित्तिन पुगेको आरोप लगाएका छन्।

लरी चालकहरूको अभावका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुनसक्ने आशङ्काका कारण कैयौँ चालकहरू पेट्रोल पम्प पुगेका थिए। सरकारले ट्याङ्कर चालकहरूको अभाव पूर्ति गर्नका लागि विदेशी एचजीभी चालकहरूका लागि तीनमहिने अस्थायी प्रवेशाज्ञा उपलब्ध गराउन सहमत भइसकेको छ। बिपी र सेलजस्ता ठूला उत्पादकहरूले यूकेका रिफाइनरीहरूमा पर्याप्त मात्रामा इन्धन रहेको जनाएका छन्।