बेलायतमा लरी चालक अभाव भएपछि करिब ५ हजार विदेशी चालक भित्राउने तयारी

PA MEDIA\BBC

लण्डन । बेलायतले विदेशी लरी (लामो किसिमको ट्रक) चालकलाई सहजै अस्थायी प्रवेशाज्ञा प्राप्त गर्न मिल्ने गरि नियम ल्याउने भएको छ । यस्तो योजनाको विस्तृत विवरण आइतवार सार्वजनिक गर्ने तयारी रहेको बीबीसीले जनाएको छ । यसबाट अब विदेशी चालकले बेलायतमा अवसर पाउने छन् । बेलायतमा लरी चालकको अभाव भएपछि यस्तो नियम ल्याउन लागिएको हो ।

आप्रवासन सम्बन्धी नियममा गरिने कुनै पनि परिवर्तन सीमित समयका लागि हुनेछ र प्रवेश अनुमति दिइने कामदारको सङ्ख्यात्मक सीमा तोकिने समाचारमा उल्लेख छ । करिब ५ हजार प्रवेशाज्ञा जारी हुनसक्ने बुझिएको छ। लरी चालकहरूको अभावले यूकेमा इन्धनको आपूर्तिलाई प्रभावित पारेको समाचारमा उल्लेख छ । यसले पेट्रोल पम्प बन्द भएका छन् र लामो लाइन लाग्नुपर्ने अवस्था छ।

रोड होलेज एसोसिएसनले यूकेमा लगभग १ लाख ठूला सवारी साधनहरूका लागि चालकको अभाव रहेको अनुमान गरेको छ। महामारी र ब्रेक्जिटका कारण अवस्था थप जटिल भएको उसको भनाइ छ। सरकारी र उद्योगीहरूले रिफाइनरीहरूमा इन्धनको अभाव नरहेको भन्दै मानिसहरूलाई आत्तिएर खरिद् नगर्न समेत अनुरोध गरेका छन्। सैनिक व्यक्तिहरूलाई छोटो अवधिका लागि चालकका रूपमा खटाउने कुनै योजना नरहेको समाचारमा उल्लेख छ ।