बेलायतले म्यानमारबाट आफ्ना नागरिकलाई फिर्ता बोलायो

file Photo: AFP

काठमाडौं । बेलायत सरकारले म्यानमारबाट आफ्ना नागरिकलाई स्वदेश बोलाएको छ । सेनाले नरसंहार थालेसँगै म्यानमार असुरक्षित बनेको छ । सेनाले सडकमा हिड्ने मानिसहरुलाई ताकी ताकी गोली हान्न थालेसँगै बेलायतले आफ्ना नागरिकलाई घर फर्कन भनेको हो । म्यानमारमा प्रदर्शनकारीमाथि भइरहेको ज्यादतीको यूरोप, अमेरिका, जापान, अस्ट्रेलियासहितका मुलुकको कडा निन्दा गरेका छन् ।

शनिबार सेनाले देखाएको बर्बरताको भिडियोहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । जहाँ अमानवीय तरिकाबाट सेनाले सडकमै निहत्था मानिसको हत्या गरेको देखिएको छ । शनिबार सेनाले बालबालिकासहित एक सय १४ जनाको हत्या गरेको थियो । १ फेब्रुअरीमा सेनाले यहाँको सत्ता हातमा लिएको थियो । सेनाको कदमको विरोधमा म्यानमारमा हिंसा भड्किएको छ । यहाँ ४ सयभन्दा धेरै प्रदर्शनकारीको ज्यान गइसकेको छ ।