बेलायतले १० करोड खोप बाड्ने, नेपाल पर्ला प्राथमिकतामा ?

Reuters

लण्डन । बेलायतले आफुसँग अतिरिक्त भण्डारमा रहेको १० करोड खोप गरिब मुलुकहरुलाई अनुदानमा वितरण गर्ने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले यूकेले गरिब देशहरूलाई आगामी केही साताबाट खोप उपलब्ध गराउन थाल्ने बताएका हुन् । बीबीसीका अनुसार धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा उनले आफूलाई चाहिनेभन्दा बढी रहेका दश करोड खोप अर्को वर्षसम्म वितरण गरिने बताएका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले ९२ वटा न्यून तथा मध्यम आय भएका देशहरू र अफ्रिकी सङ्घलाई ५० करोड फाइजर खोपको मात्रा उपलब्ध गराउने घोषणा गरेका थिए। यूकेले ५० लाख खोप सेप्टेम्बर महिनाको अन्त्यसम्ममा उपलब्ध गराइने भन्दै यसै वर्षको अन्त्यसम्ममा अर्को २ करोड ५० लाख खोप वितरण गर्ने जनाएको छ ।

प्रधानमन्त्री जोनसनले यूकेको खोप कार्यक्रमको सफलताका कारण अतिरिक्त सङ्ख्यामा रहेका खोप आवश्यकता रहेकाहरूलाई दिनसक्ने अवस्थामा रहेको समेत बताए । उनले शुक्रवार कोर्नवालमा सुरु हुने जी सेभेनको शिखर बैठकमा आफ्ना सहकर्मी नेताहरूले पनि यस्तै प्रतिबद्धता जनाउने अपेक्षा गरेका छन् ।

अर्को वर्षको अन्त्यसम्म विश्वलाई नै खोप लगाइसक्नुपर्ने आवश्यकता रहेको उनले बताए । नेपालले बेलायतबाट खोपको अपेक्षा गरेको छ । भारतबाट खरीद गरेको खोप नआएपछि करीव १४ लाख मानिसले पहिलो खोप लगाएपनि दोस्रो खोप लगाउन सकेका छैनन् ।