काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेलायती राजकुमार एडवार्ड र श्रीमती सोफियासँग शिष्टाचार भेटवार्ता गरेका छन् । ६ दिने भ्रमणका लागि आजै नेपाल आइपुगेका उनीहरू राष्ट्रपति पौडेललाई भेट्न शीतनिवासस्थित राष्ट्रपति कार्यालय पुगेका थिए । भेटमा दुई देशबीच भएको सम्बन्ध, आपसी हित र चासोको विषयमा छलफल भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी गराएकी छिन् । भेटमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन आजको विश्वको प्रमुख चिन्ताको विषय भएकाले यो समस्या समाधानका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।
‘जलवायु परिवर्तन आज विश्वको प्रमुख चिन्ताको विषय बनेको छ, जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाल संरक्षणको विषयलाई प्रमुखताका साथ आवाज उठाउँदै आएको छ’, राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।
यसै सन्दर्भमा नेपालले सगरमाथा संवादको थालनी गर्न लागेको राष्ट्रपति पौडेलले जानकारी दिए । उक्त मञ्चको पहिलो संस्करण आगामी १६ देखि १८ मेसम्म काठमाडौंमा ‘जलवायु परिवर्तन, हिमाल र मानवको भविष्य’ विषयमा आयोजना हुन गईरहेको उनको भनाइ थियो । उनले महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपबाट सन् १९६० र १९८६ मा नेपालको राजकीय भ्रमण भएको स्मरण पनि भेटवार्ताका क्रममा गरेका छन् ।
‘नेपाल र बेलायतबीच सदियौँदेखि घनिष्ट सम्बन्ध रही आएको छ, महत्त्वपूर्ण विकास साझेदारसमेत रहेको बेलायतले नेपालको चौतर्फी विकासमा सहयोग पुर्याउँदै आएकोमा धन्यवाद व्यक्त गर्दछु’, राष्ट्रपति पौडेलले भने । सो अवसरमा एडवार्डले नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनिकरणमा नेपालले गरेको प्रयासका बारे भ्रमणका क्रममा जानकारी हुने विश्वास व्यक्त गरे । भ्रमणका क्रममा प्रकृति कति जोखिम अवस्थामा छ र हिमालमा जलवायु परिवतर्नले कस्तो असर पारेको छ भनेर जान्न बुझ्न पाउने पनि विश्वास उनले व्यक्त गरे ।
बेलायतको राजपरिवारका सदस्यबाट नेपाल आउने प्रयास भइरहेको र नेपाल आउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउँदै राजकुमारले नेपाल बेलायतबीच भविष्यमा सहयोगको आदानप्रदान गर्दा युवा र महिला सशक्तिकरणको विषय सान्दर्भिक हुने बताए ।
ब्रिटिस सेनामा नेपालले भर्तीका लागि दिएको स्वीकृतिका लागि आभार प्रकट गर्दै नेपाल बेलायतबीचको सुमधुर सम्बन्धमा ब्रिटिस गोर्खा सेना कोशेढुंगा रहेको उल्लेख गरे । सोही अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बेलायती सेनाको ‘गोर्खा–ब्रिगेडका’ प्रमुख मेजर–जनरल जेराल्ड स्ट्रिकल्याण्डले ‘ब्रिगेड अफ गोर्खा’ को सन् २०२४ को वार्षिक प्रतिवेदन पेस गरे ।
राष्ट्रपति पौडेलले सो प्रतिवेदन प्रस्तुत गरेकामा बेलायत सरकारप्रति आभार प्रकट गर्दै ‘ब्रिटिस–गोर्खा’ हाम्रो द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण कडी भएको बताए । ‘ब्रिटिस–गोर्खा हाम्रो द्विपक्षीय सम्बन्धको महत्त्वपूर्ण कडी हो, जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्न पनि यसले महत्त्वपूर्ण योगदान पुर्याएको छ’, राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।