लन्डन, ३१ असोज (रासस÷एएफपी) । बेलायतका राजकुमार एन्ड्र्युमाथि तत्कालीन १७ वर्षीया भर्जिनिया गिफ्रेसँग यौन सम्बन्ध राख्दा उनले आफूलाई ‘जन्मसिद्ध अधिकार’ जस्तो व्यवहार गरेको आरोप गिफ्रेको मरणोपरान्त प्रकाशित संस्मरणमा उल्लेख गरिएको छ । गिफ्रेले आफ्नो पुस्तक ‘नोबडिज गर्ल : ए मेमोयर अफ सर्भाइभिङ एब्युज एन्ड फाइटिङ फर जस्टिस’ मा सन् २००१ मा लन्डनमा एन्ड्र्युसँग तीनवटा छुट्टै अवसरमा यौन सम्बन्ध राखिएको बताएकी छिन् । उनले अमेरिकी फाइनान्सर जेफ्री एपस्टेनले उनलाई यौन दासको रूपमा प्रयोग गरेको र एन्ड्र्युले उनीमाथि आक्रमण गरेका आरोप लगाइन् ।
एन्ड्र्युले बारम्बार आरोप अस्वीकार गर्दै करोडौँ डलरको सम्झौतासहित मुद्दा बेवास्ता गरेका थिए । गिफ्रेले सन् २००१ मार्चमा लन्डनमा एन्ड्र्युसँगको भेटको अनुभव, ट्र्याम्प नाइटक्लबमा उनीहरुको भेट र एपस्टेनको सहयोगी घिस्लेन म्याक्सवेलको घरमा यौन सम्बन्ध भएको वर्णन गरेकी छिन् । गिफ्रेले संस्मरणमा भनेकी छिन्, “उनी पर्याप्त मैत्रीपूर्ण थिए, तर अझै पनि हकदार थिए, जस्तो कि उनी मसँग यौन सम्बन्ध राख्नु आफ्नो जन्मसिद्ध अधिकार हो भन्ने विश्वास गर्थे ।” एपस्टेनले उनलाई १५ हजार डलर तिरेको पनि पुस्तकमा उल्लेख छ ।
एपस्टेनको सन् २०१९ मा जेलमा मृत्यु भएको थियो भने म्याक्सवेललाई सन् २०२२ मा कम उमेरका केटीहरू भर्ती गरेको आरोपमा अमेरिकी जेल सजाय सुनाइएको थियो । गिफ्रेको अप्रिल २५ मा पश्चिमी अस्ट्रेलियामा निधन भएको थियो । एन्ड्र्युसँगको सम्बन्धले उनको प्रतिष्ठामा ठूलो प्रभाव पारेको छ र सन् २०१९ को टिभी अन्तर्वार्तापछि उनको लोकप्रियता सर्वकालिक कममा झरेको थियो । पुस्तक अक्टोबर २१ मा नोफद्वारा प्रकाशित हुने तयारीमा छ ।