लण्डन । लन्डनस्थित नेपाली राजदूतावासले बेलायती सरकारलाई पूर्वगोर्खा सैनिकको जीवन रक्षामा गम्भीर हुन ध्यानाकर्षण गराएको छ ।
दूतावासले बेलायतमा रहेका नेपाली समुदायमा कोरोना भाइरसले पारेको प्रभावबारे अवगत गराउँदै त्यसमा पनि पूर्वगोर्खा सैनिक बढी प्रभावित भएको तर्फ ध्यानाकर्षण गराएको हो ।
बेलायतमा कोरोनाका अन्य मुलुकको तुलनामा नेपालीको बढी ज्यान गएको छ । बेलायतमा रहेका नेपालीमध्ये कोरोना सङ्क्रमणका कारण वृद्धवृद्धा एवं भूतपूर्व गोरखा सैनिक र उनीहरूको परिवारका सदस्य बढी प्रभावित भएको दूतावासको पत्रमा उल्लेख गरिएको छ ।
संक्रमितमा मृत्युदर पनि उच्च रहेको देखिएको उल्लेख गर्दै पत्रमा उनीहरुको भाषागत समस्या तथा अस्पताल र अत्यावश्यक सामग्रीको पहुँचलगायत अन्य विविध समस्या रहेकाले यथाशक्य चाँडो आवश्यक सहयोगका लागि आग्रह गरिएको हो ।
यस सम्बन्धमा राजदूत्ले बेलायत सरकारको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र गोरखा वेलफेयर ट्रष्टमा टेलिफोन गरी ध्यानाकर्षणसमेत गराइएको दूतावासले उल्लेख गरेको छ ।