१३ कात्तिक, काठमाडौं । बैतडीमा भिरबाट लडेर तीन जनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका ७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका ५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका ७ ढाँणकी ५८ वर्षीया हरुली कार्कीको भिरबाट लडेर मृत्यु भएको हो ।
बुधबार शिवनाथ धाममा जात्रा हेर्न गएका भीमसिंह घर नफर्केपछि प्रहरीले खोजतलास गर्दै जाँदा बिहीबार दिउँसो भिरमा मृत अवस्थामा फेला परेका बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए । उनका अनुसार शिवनाथ–६ ओल्या भिरभन्दा करिब ५०० मिटर तल भीमको शव फेला परेको हो ।
इन्द्रसिंहको पनि शिवनाथ जात्राबाट फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, बुधबारदेखि हराइरहेकी कार्कीको खोजी गर्दा भिरबाट करिब एक मिटर तल लडेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक बडूले जानकारी दिए । न्यौटे भन्ने ठाउँमा खर काट्ने क्रममा उनको भिरबाट लडेर मृत्यु भएको जनाइएको छ । तीन वटै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
रासस