काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ४.९ किलो लागूऔषध हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ । विगतमा केही मानिसहरुलाई पटक(पटक पक्राउ गरेको अनुभवको आधारमा शंकास्पदको पहिचान गरेर अनुसन्धान गर्ने क्रममा झण्डै ५ किलो लागूऔषध हेरोइन बरामद भएको ब्यूरोका एसपी जीवन श्रेष्ठले बताए । उनका अनुसार पक्राउ पर्नेमा तान्जानियन नागरिक अब्दल्ला बुल्लिकक, भारतीय नागरिक मुनिम सिंह, विक्रमजित सिंह र वीरगञ्ज घर भएका नेपाली नागरिक कोबिक्की रौनियार छन् । श्रेष्ठका अनुसार तान्जानियन नागरिकको गतिविधि शंकास्पद लागेपछि ब्यूरोबाट खटिएको टोलीले उनलाई निगरानी गर्दै बौद्धस्थित एक होटलसम्म पुगेको थियो ।
त्यसक्रममा उनले ल्याएको सुटेकसभित्र झण्डै ५ किलो लागूऔषध हेरोइन बरामद भएको हो । हेरोइन लुकाउनलाई उनले सुटकेसभित्र पिँधको भागमा रहेको फल्सबटममा लागूऔषध लुकाएका थिए । पक्राउ परेका भारतीय नागरिक चाहिँ उनीसँग लागूऔषध लिन आएका थिए । ताञ्जिनियन नागकिरले दक्षिण अफ्रिकाबाट दुबई हुँदै काठमाडौंमा लागूऔषध ल्याएको खुलेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ब्यूरोले जेठ अन्तिम साता पनि विशेष अपरेशन चलाएर ५१ किलो हेरोइनसहित ७ जना महिलालाई पक्राउ गरेको थियो ।