ब्राजिलमा भिषण वर्षा, छिनभरमा करीव १ सय मानिसको मृत्यु

file

रियो दि जिनेरो । ब्राजिलमा अचानक आएको भिषण वर्षा र बाढीका कारण करीव १ सय मानिसको ज्यान गएको छ । बीबीसीका अनुसार ब्राजिलको पेत्रोपुलिसमा अचानक आएको बाढीपहिरोका कारण कम्तीमा ९४ जना मानिसको ज्यान गएको पुष्टी भइसकेको छ । रियो दि जिनेरोबाट उत्तरतर्फ पर्ने उक्त पहाडी सहरमा दशकौँपछि मुसलधारे वर्षा भएको थियो।


सडकमा पानीको भेल पस्दा कार यत्रतत्र भएका थिए । पहाडी खोँचमा रहेका घर पहिरोले बगाउँदा सो संख्यामा मानवीय क्षति भएको हो । हिलो मिसिएको भेल मानिसहरूका घरमा छिर्दा कयौँ परिवार घरबार विहीन बनेको समेत खबर छ । अधिकारीहरूले विपद्लाई व्याख्या गर्ने क्रममा झण्डै एक महिनाको वर्षा बराबरको पानी केही घण्टामै परेको बताएका छन्। रियो दि जिनेरो राज्यका गभर्नरले त्यो सन् १९३२ पछिको ठूलो वर्षा भएको बताएका छन्। पेत्रोपुलिस सहरका मेअरले त्यहाँ आपत्काल घोषणा गरेका छन्।

खोजी तथा उद्धारकर्ताहरूले माटोमा पुरिएका मानिसहरू खोजिरहेका छन्। एकजना स्थानीयवासीले आफूले पुरिएकी एक बालिकाको जिउँदै उद्धार गरेको समाचार संस्था एएफपीलाई बताएका छन् । रुस भ्रमणमा रहेका राष्ट्रपति जाइर बोल्सोनारूले त्यहाँ तत्कालै सहायता पठाइने बताएका छन्। पेत्रोपुलिस एउटा पर्यटकीय गन्तव्य हो ।