ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपालमा तीन दिन शोक घोषणा

काठमाडौं । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपाल सरकारले तीन दिन शोक घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसबीचमा बिदा भने दिइएको छैन । निधन भएकी महारानीको सम्मानमा शनिवारदेखि तीन दिन नेपालभरिका सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाएर शोक व्यक्त गर्ने निर्णय भएको हो ।

यूकेमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बिहीवार राति बाल्मोरलमा निधन भएको थियो। उनी ७० वर्षसम्म गद्दीनसीन थिइन्। महारानी एलिजाबेथले गद्दीमा रहेकै बेला विसं २०१७ र २०४२ सालमा दुई पटक नेपालको भ्रमण गरेकी थिइन्।