भक्तपुरमा अचेत अवस्थामा भेटिएका दुईको मृत्यु

काठमाडौं । भक्तपुरमा अचेत अवस्थामा भेटिएका दुई जनाको मृत्यु भएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसारमध्यपुर थिमी नगरपालिका–२ सानोथिमीको दुई भिन्नाभिन्नै स्थानमा अचेत अवस्थामा फेला परेका दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्यपुर थिमी–२, सानोथिमीस्थित दिव्यश्वरी प्लानिङको हलेसी मार्टपछाडि सडकमा घोप्टो भई अचेत अवस्थामा फेला परेका उदयपुर कटारी–९ का ३५ वर्षीय सुरज तामाङको उपचारका क्रममा मृत्यु भएको हो । तामाङलाई उपचारका लागि नेपाल– कोरियामैत्री अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको हो ।

मध्यपुर थिमी–२, सानोथिमीस्थित एक घरमा डेरा गरी बस्ने उदयपुर गाईघाटका ४० वर्षीय गणेश मगरको पनि उपचारका क्रममा मृत्यु भएको छ । मगर शौचालयमा अचेत अवस्थामा फेला परेका थिए । शौचालयमा चुकुल लगाई अचेत अवस्थामा रहेका मगरलाई उनकै श्रीमतीले फेला पारी प्रहरीलाई खबर गरेकी थिइन् । उनलाई प्रहरी प्रभाग सानोथिमीको प्रहरी टोलीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो ।

उता, सूर्यविनायक–९ नंखेल भाराली खोलामा पहिचान नखुलेको करिब ४४ वर्षीय पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ । गहुँगोरो, पाँच फिट उचाइ रहेको ती पुरूषले हरियो रङको नर्थफेस लेखेको ज्याकेट, हरियै ट्रयाक सुट र ऊनको टोपी लगाएको प्रहरीले बताएको छ । यी घटनाहरुबारे प्रहरीले अनुसन्धान समेत गरिरहेको छ ।