काठमाडौं । भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल हुने भएको छ। उपमेयर, दुई वटा वडाध्यक्ष र केही सदस्य पद पाउने भएपछि राप्रपाले एमालेलाई सघाउने निर्णय गरेको छ । यहाँ गठबन्धनबाट माओवादी नेत्री रेणु दाहाल उमेदवार छिन् । गठबन्धनमा असन्तुष्टी जनाएको कांग्रेसका केही नेताले स्वतन्त्र उमेदवारी समेत दिने तयारी गरेका छन् ।
राप्रपाले चितवनको भरतपुर र माडी नगरपालिकाका मेयरको उम्मेदवार घोषणा गरेको थियो। तर, राति केन्द्रीय तहमै सहमती भएपछि भरतपुरमा तालमेल हुने भएको हो। सहमतीअनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर १५ र २६ मा राप्रपाले उठाउने वडाध्यक्षलाई एमालेले सहयोग गर्नेछ।
वडा नम्बर ४, ११, १६, १९ र २४ मा मित्रवत प्रतिष्पर्धा गर्ने र बाँकी वडामा एमालेका उम्मेदवारलाई राप्रपाले सघाउने सहमती भएको छ। एमालेले महानगरको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ ।