भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

Nepal players celebrate after winning the semi-final match against Sri Lanka in the women’s volleyball tournament under the 13th South Asian Games at the National Sports Council covered hall in Kathmandu on Saturday, November 30, 2019. Photo: Udipt Singh Chhetry / THT

काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३–२ को सेटमा हराएको हो । नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हरायो । घरेलु समर्थकको साथ पाएको नेपालले पहिलो सेटमा १२–६ को अग्रता लिदै शानदार सुरुवात गर्‍यो । तर भारतले पुनरागमन गर्दै ११–१३ गर्दै अग्रता अंक २ मा घटाएपछि नेपालले पहिलो टाइम आउट लिएको थियो ।

अग्रतालाई निरन्तर्ता दिदै २२–१८ मा पुर्‍याएपछि पहिलो सेटमा जित पक्का जस्तै बनेको थियो । नेपालले पहिलो सेट २५–१८ ले सहजै जितेको थियो ।
दोस्रो सेटमा सुरुवातमा नेपाल ६–६ को अवस्थामा थियो । तर त्यसपछि भारतले निरन्तर अंक बटुल्दै १५–१२ को सहज जित हात पार्‍यो । खेलाडी परिवर्तनमा गल्ती गरेपछि नेपालले रातो कार्ड पाउँदा भारतले अन्तिम अंक नखेली पाएको थियो ।

तेस्रो सेटमा नेपालले १६–९ को अग्रता लिँदै सहज जितको आधार तयार पारेको थियो । तेस्रो सेटमा २५–१७ को जित हात पार्दै ऐतिहासिक जित निकाल्नबाट एक सेट जित टाढा थियो । चौथो सेटमा भारत सुरुवातमा ८–३ ले अघि थियो । भारत निरन्तर चौथो सेटमा अघि थियो । भारत मध्य समयमा १५–१० ले अघि थियो ।

नेपालले १५–१७ बनाउँदै खेलमा फर्किने सम्भावना देखाएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा २ अंकले पछि परेको अवस्थाबाट लगातार पाँच अंक गुमाउँदा भारतले चौथो सेट २५–१८ ले जितेको थियो । निर्णायक पाँचौं सेटको सुरुवात प्रतिस्पर्धात्मक बनेको थियो । उषा भण्डारी र सरस्वती चौधरीको स्पाइकमा अंक जोड्दै नेपाल ५–२ को अग्रता लिदै ऐतिहासिक जितको संकेत दिएको थियो । नेपालले ८–५ मा पाँचौं सेटको कोर्ट परिवर्तन गरेको थियो ।

यसअघि नेपाल र भारतबीचको महिला भलिबलमा सबैभन्दा उत्कृष्ट प्रदर्शन २०१९ को दक्षिण एसियाली खेलकुद (साग) को फाइनल दशरथ रंगशालामा थियो । उक्त खेलमा नेपाल ३–२ सेटले हार्दै स्वर्ण जित्नबाट चुकेको थियो । काभा वुमन्स लिगमा प्रतियोगितामा नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंका सहभागी छन् ।

शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् । नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो । भारतले पहिलो खेलमा इरानलाई ३–१ र दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।