भागरथी हत्याका आरोपी दिनेशको डीएनए भजाइनल स्वावसँग मिल्यो

काठमाडौं । भागरथी हत्या प्रकरणका आरोपित दिनेश भट्टको डीएनए मृतक भागरथीको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको छ । यससँगै यो घटनाको अनुसन्धानमा थप प्रमाण प्राप्त भएको प्रहरीको भनाई छ । केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको प्रहरीले जनाएको छ ।

नेपाली संचारमाध्यमले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता मुकेश सिंहका उदृत गर्दै जनाएअनुसार शवको पोष्टमार्टमका दौरान डीएनए परीक्षण गर्न भजाइनल स्वाब निकालिएको थियो । स्वाबबाट प्राप्त नमूना र आरोपितको डीएनए मिलेको हो । प्रहरीले दिनेशलाई ४ फागुनमा पक्राउ गरेको हो ।

उनले प्रहरी, परिवार र सरकारी वकिलसँग अभियोग स्वीकार गरेका थिए । तर, पछि उनको परिवारले भने अरुले हत्या गरेको र धम्की दिएर दिनेशलाई आरोप स्वीकार गर्न लगाइएको आरोप लगाएका थिए ।

दिनेशलाई २६ फागुनमा जिल्ला अदालत, बैतडीले पुर्पक्षका लागि दिपायलस्थित सुधार गृह पठाउन आदेश दिएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चुडेपानीकी भागरथीको २२ माघमा बलात्कारपछि हत्या भएको हो । भागरथी दिनेशको नाताले दिदी पर्छिन् ।