भागरथी हत्या प्रकरणमा खटिएका प्रहरी कर्मचारीलाई बढुवा र पुरस्कार

काठमाडौं । बैतडीमा बलात्कारपछि हत्या भएकी भागरथी भट्टको हत्यारा पत्ता लगाउन सफल प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । तिव्र दवावका बीच पनि हत्यारासम्म पुगि प्रहरीको छवि उच्च राख्न सफल भएको भन्दै संगठनले उनीहरुलाई पुरस्कृत गरेको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले यस प्रकरणको अनुसन्धानमा खटिएका दुई कनिष्ठ प्रहरीको एक तह बढुवा गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसहित ५ जनालाई नगद पुरस्कार प्रदान गरिएको छ ।


प्रहरी प्रधान कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापा प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भएका छन् । साथै इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया दरबन्दी भएका प्रहरी जवान नरबहादुर थापा प्रहरी हवल्दार पदमा पदोन्नति भएका छन् । थापाले यसअघि कैलालीमा दुई प्रहरीको हत्या, कञ्चनपुरमा खण्टी भुलको हत्यासहितका घटनामा समेत महत्वपूर्ण भूमिका खेलेको संगठनको निष्कर्ष छ ।

जवान नरबहादुरले भागरथी प्रकरणसहित दुई प्रहरीको हत्या र बझाङमा सम्झना विकको बलात्कारपछि हत्या प्रकरणमा समेत प्रहरीलाई सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । भागरथी प्रकरणको अनुसन्धानमा आफै खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीसहित ५ अधिकृतलाई भने नगद पुरस्कार दिइएको छ ।

पुरस्कृत हुने अन्यमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो दरवन्दी भएका डीएसपी पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दीका प्रहरी नायब निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरवन्दीका प्रहरी जवान अशोक बहादुर कुँवर रहेका छन्