नयाँ दिल्ली । भारतका सबैजसो राज्य बर्ड फ्लुको प्रकोपमा आएका छन् । भारतका नौ राज्यमा पुष्टी भइसकेको र अन्य राज्यको नमुना परीक्षणको नतिजा आउन बाँकि रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतको दिल्ली र महाराष्ट्रमा पनि बर्ड फ्लु देखिएपछि यहाँ चिन्ता बढेको छ ।
यसले ठूलो रकम लगानी गरि खोलिएका पोल्ट्री फर्म समस्यामा पर्ने देखिएको छ । बर्ड फ्लुको संक्रमण देखिएसँगै नयाँ दिल्लीको गाजिपुर होलसेल कुखुरा बजार बन्द गरिएको छ । दिल्लीमा बर्ड फ्लुको कारण दुई सय चरा समेत मरेका छन् । बर्ड फ्लुको संक्रमण देखिएसँगै पोखरी, तालतलाउ तथा वन्यजन्तु आरक्षण क्षेत्रमा मानिसको भ्रमण रोकिएको छ ।
महाराष्ट्रमा पछिल्लो दुई दिनमा मात्र कम्तीमा आठसय कुखुरा मरेका छन् । मरेका कुखुराको नमुना संकलन गरी परीक्षण गराउँदा बर्ड फ्लुको संक्रमण पुष्टि भएको हो । आइतबार उत्तर प्रदेशको कानपुर सहरमा रहेको एक चिडियाखाना चरा र सुगा मरेको पाइएको छ । उत्तर प्रदेशले उक्त चिडियाखाना आसपास १० किलोमिटर क्षेत्रमा मासुको व्यापार रोकेको छ । उत्तर प्रदेशको भोपालमा समेत काग मरेको बताइएको छ ।