भारतको अडानी ग्रुप र नेपालको चौधरी ग्रुपबीच व्यवसायीक साझेदारी गर्ने सहमति

काठमाडौं । नेपालको चौधरी ग्रुप र भारतको अदानी ग्रुपबीच सिमेन्ट व्यवसाय अभिवृद्धिका लागि रणनीतिक साझेदारी गर्ने सहमति भएको छ। नेपाल र भारतको सम्बन्ध अझै सुदृढ गर्दै लैजाने उद्देश्यले दुई देशका व्यावसायिक घरानाले सिमेन्ट व्यवसायमा नयाँ अध्याय सुरू गरेका हुन्। नेपालसँग जोडिएका भारतीय राज्यहरूमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले यो साझेदारी गरिएको चौधरी ग्रुपले जनाएको छ।

यसै सन्दर्भमा ग्रुपका प्रबन्ध निर्देशक वरूण चौधरीले यो सहमति दुई देशबीचको आर्थिक र व्यापारिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यमा कोशेढुंगा सावित हुने विश्वास रहेको बताए। उनले अदानी ग्रुपका अध्यक्ष गौतम अदानीले यो रणनीतिक साझेदारी सफल बनाउन नेतृत्व दिई भूमिका खेलेकोमा आभार पनि व्यक्त गरे।

‘यस रणनीतिक सहकार्यमार्फत हामी आर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौं,’ उनले भने।

चौधरी ग्रुप र अदानी ग्रुपबीच यो सम्झौता नेपालमै भएको हो। यसले दुई व्यावसायकि घरानाको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोण दर्शाएको र सामूहिक वृद्धि तथा पारस्परिक लाभको यात्रामा अगाडि बढेको पनि उनले बताए। भविष्यमा थप आर्थिक सम्बन्धहरू बढावा दिनेतर्फ यो सहमतिले सकारात्मक प्रभाव पार्ने विश्वास दुवै समूहको छ।

अदानी ग्रुपको सिमेन्ट व्यवसायसँगको साझेदारी नेपाल र भारतबीचको दिगो सम्बन्धको प्रमाणको रूपमा रहने विश्वास पनि दुवै पक्षको रहेको चौधरी ग्रुपले जनाएको छ। चौधरी ग्रुपले हाल पाल्पामा रहेको कारखानामार्फत् सिजी सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।