भारतको छत्तीसगढमा माओवादी आक्रमणमा मारिने प्रहरीको संख्या २२ पुग्यो

Image Source : PTI\IndiaTV

छत्तिसगढ । भारतको छत्तीसगढमा माओवादी संगठनको आक्रमणमा मारिने सुरक्षाकर्मीको संख्या २२ पुगेको छ । यसअघि राज्य सरकारले ४ सुरक्षाकर्मी मारिएको जनाएको थियो । माओवादी संगठनले प्रहरीको कमाण्डो युनिटलाई धरापमा पारेर गोली चलाएको थियो ।

यस घटनामा कम्तीमा २२ जना प्रहरीको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्। बीबीसीका अनुसार बिजापुर जिल्लाको जङ्गली इलाकामा शनिवार यो घटना भएको हो । छत्तीसगढका एक वरिष्ठ सुरक्षा अधिकारी अशोक जुनेजाका अनुसार हमलापछि एकजना जवान अझै वेपत्ता रहेका छन् ।

यो घटना पछिल्ला वर्षमा माओवादीबाट भएको सबैभन्दा ठूलो र घाइत हमला थियो । हमलापछि सुरक्षाकर्मीसँग सम्पर्क टुटेको थियो । त्यसपछि घटनास्थलमा थप बल पठाएर खोजी थालिएको थियो । त्यसक्रममा अन्य शव फेला परेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनापछि ट्वीट गर्दै मृतकका परिवारहरूप्रति संवेदना व्यक्त गरेका छन्। भारतको द्धत्तीसगढमा माओवादी संगठन सक्रिय छ । समाचारमा जनाए अनुसार माओवादी तथा सुरक्षाकर्मीबीच करिब चार घण्टा गोली हानाहान भएको हो । माओवादीतर्फ पनि निकै क्षति भएको बताइए पनि यकिन तथ्यांक आएको छैन ।