काठमाडौं । भारतको अन्तरिक्ष निकाय इसरोले सूर्यको अवलोकनका लागि त्यसतर्फ जाँदै गरेको आफ्नो अन्तरिक्षयानले पठाएको पहिलो तस्बिर सार्वजनिक गरेको छ। भारतको अन्तरिक्ष अभियान आदित्य एल १ ले पृथ्वीबाट सूर्यतर्फको १५ लाख किलोमिटर टाढाको यात्रामा अघि बढिरहेको छ।
यो भाग पृथ्वी र सूर्यबीचको पूरा दूरीको १ प्रतिशत मात्रै हो। यो अन्तरिक्ष यानलाई आफ्नो गन्तव्यमा पुग्न चार महिना लाग्ने इसरोले जनाएको छ। चन्द्रमाको दक्षिणी ध्रुव नजिक आफ्नो ल्यान्डर अवतरण गर्ने पहिलो देश बनेको केही दिनमै भारतको पहिलो सौर्य अन्तरिक्ष अभियान प्रक्षेपण भएको हो।
बिहीवार बिहान इसरोले आदित्यमा जडित क्यामराबाट सेप्टेम्बर ४ मा लिइएका दुई वटा तस्बिर सार्वजनिक गर्यो। त्यसमध्ये एउटा तस्बिरमा एउटै फ्रेमभित्र पृथ्वी र चन्द्रमा देखिन्छन्। त्यसमा पृथ्वी निकै ठूलो देखिएको छ भने चन्द्रमा निकै टाढा र सानो धब्बाजस्तो मात्रै देखिन्छ।
दोस्रो तस्बिर चाहिँ सेल्फी हो। त्यसमा सूर्यतर्फ गइरहेको अन्तरिक्षयानमा रहेका सात वटा वैज्ञानिक उपकरणहरूमध्ये दुई वटा उपकरण देखिन्छन्। सौर्य प्रणालीको सबैभन्दा ठूलो वस्तु अध्ययनका लागि भारतले पठाएको अन्तरिक्षमा आधारित पहिलो अभियानको नाम पनि सूर्यको नामबाट राखिएको छ। हिन्दू धर्ममा देवताको रूपमा पुजिने सूर्यलाई आदित्य नामले पनि चिनिन्छ। एल १ को अर्थ लाग्रान्ज विन्दु १ हो। यही विन्दुतर्फ भारतको अन्तरिक्षयान गइरहेको छ।