भारतबाट खोप नआएपछि बेलायतको आशमा नेपाल

काठमाडौं । नेपालले ९ लाख भन्दा बढी जेष्ठ नागरिकलाई कोभिसिल्ड खोपको पहिलो डोज लगाएको छ । दोस्रो डोज खरीद गर्न भारतीय खोप निर्माता कम्पनी सिरमलाई रकम भुक्तानी गरिसकेको अवस्थामा पनि तत्काल खोप आउने सम्भावना छैन । किनकी भारत आफैले यतिबेला महामारीको सामना गर्नु परेको छ । यता नेपालमा पहिलो मात्रा लगाएकाहरुको दोस्रो डोज लगाउने अवधि सकिन लागेको छ । त्यसमाथि अधिकांश वृद्धवृद्धा छन् ।

जसले गर्दा तत्काल दोस्रो डोजको जोहो गर्नुपर्ने चूनौति सरकार सामु रहेको छ । कोभिसिल्ड सोही खोप हो, जुन बेलायतमा अस्ट्राजेनेका रुपमा उत्पादन भएको छ । भारतमा कोभिसिल्ड नाममा स्थानीय उत्पादन गरिएको हो । सोहीकारण सरकारले बेलायतबाट यो खोपको प्राप्तिमा जुटेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बेलायती राजदूत निकोला पोलिटसँग भेट गर्दै खोप उपलब्ध गराउन आग्रह गरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीले नेपाली जनताको लागि अस्ट्राजेनेका कोभिड–१९ खोप उपलब्ध गराउन अनुरोध गरेका हुन् । त्यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवलीले बेलायती समकक्षीमार्फत खोप उपलब्ध गराइदिन अनुरोध गरिसकेका छन् ।

बेलायतबाट भने कुनै प्रतिक्रिया आइसकेको छैन । कोभिसिल्ड अमेरिकासँग स्टकमा रहेको खोप समेत हो । उसले आफुसँग रहेको ८ करोड डोज कोभिसिल्ड अन्य मुलुकलाई दिने बताएको छ । तर, त्यो सूचिमा नेपाल पर्छ वा पर्दैन, निश्चित छैन ।