नयाँ दिल्ली । भारतमा आजबाट कोरोना भाइरस विरुद्धको खोप सर्वसाधारणमा लगाउन शुरु हुँदैछ । यसलाई महाअभियान नाम दिएर प्रधानमन्त्री नरेन्द्र मोदीले प्रारम्भ गर्दैछन् । अभियान उद्घाटनपछि देशभरका ६ हजार खोप केन्द्रका कर्मचारीलाई प्रधानमन्त्री मोदीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।
अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले तीन लाख स्वास्थ्यकर्मीलाई खोप लगाइने भारतीय संचारमाध्यमले जनाएका छन् । भारतले पहिलो प्राथमिकतामा ३० करोडलाई जुलाईसम्ममा खोप लगाइसक्ने जनाएको छ । यस प्रयोजनका लागि सात सय जिल्लामा झण्डै एक लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ।
भारतले प्रयोगमा ल्याउन लागेका खोपमा अस्ट्राजेनिकाले भारतीय कम्पनी सेरम इन्स्टिच्युटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन रहेका छन्। ‘कोभिसिल्ड’ प्रति डोज दुई सय र ‘कोभ्याक्सिन’ प्रतिडोज दुई सय ६ भारतीय रुपैयाँ मूल्य परेको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।