नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा एकै दिन करीव ३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार मंगलबार २ लाख ९४ हजार २ सय ९१ मानिसमा कोरोनाको संक्रमण भेटिएको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो । भारतमा पहिलो लहरको तुलनामा दोस्रो लहर संक्रमणका दृष्टिकोणबाट घातक पाइएको छ ।
पहिलो लहरमा धेरै दैनिक संक्रमण ९८ हजार अधिकतम रहेको थियो । संसारमा कुनै पनि मुलुकमा एकैदिन यति धेरै संक्रमित थपिएको यो दोस्रो पटक हो । यसअघि अमेरिकामा जनवरी ८ मा एकैदिन ३ लाख ७ हजार ५ सय ७० मानिसमा कोरोना देखिएको थियो । मंगलबार भारतमा २ हजार २१ जना संक्रमितको ज्यान गएको छ । यो संख्या भारतमा एकै दिन भएको सबैभन्दा ठूलो मानवीय क्षति हो ।