भारतमा कोभिड जितेका ९ हजार मानिसमा देखियो आँखा बिगार्ने कालो ढुसी

Photo by : gettyimages\AFP\BBC

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसलाई जित्दै गरेका करीव ९ हजार मानिसमा म्यूकोर्माइकोसिस अर्थात् (कालो ढुसी) को सङ्क्रमण देखिएको छ । बीबीसीले स्थानीय स्रोतलाई उदृत गर्दै यसको पुष्टी गरेको हो । कुल ८,८०० जनाभन्दा बढी बिरामी अहिलेसम्म फेला परेको समाचारमा उल्लेख छ । यो रोग दुर्लभ मानिए पनि अहिले प्रकोपका रूपमा फैलिरहेको बताइएको छ ।

नेपालमा समेत यो रोगका केही बिरामी भेटिएको आशंका छ । यो रोग देखिनेमा अधिकांश कोभिड भएर निको हुने क्रममा रहेका मानिस छन् । यो रोगमा मृत्युदर ५० प्रतिशत भएको समाचारमा उल्लेख छ । यस्तो संक्रमण भएमा सङ्क्रमितलाई जोगाउन शल्यक्रिया गरेर आँखा फाल्नुपर्ने अवस्था आउन सक्छ । चिकित्सकहरूका अनुसार मधुमेहका बिरामीमा यो ढुसीको सङ्क्रमण हुने जोखिम धेरै हुन्छ ।
कोभिडबाट निको भएको १२ देखि १८ दिनमा ढुसीबाट सङ्क्रमण हुन सक्ने चिकित्सकहरूले बताएको बीबीसीको भनाई छ । अहिलेसम्म फेला परेका सङ्क्रमितमध्ये आधाभन्दा बढी पश्चिम भारतका गुजरात र महाराष्ट्र राज्यका छन्। अन्य १५ वटा राज्यमा पनि कालो ढुसीको सङ्क्रमण पुष्टि भएको छ।

सङ्क्रमितको सङ्ख्या बढ्न थालेकाले भारतका २९ वटा राज्यलाई म्यूकोर्माइकोसिसलाई प्रकोप घोषणा गर्न भनिएको छ। म्यूकोर भनिने यो ढुसी माटो, वनस्पति, मलखाद र कुहिएका फलफूल र तरकारीमा पाइन्छ । यसको उपचार पनि महँगो छ तथा औषधिको समेत अभाव छ।