नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारतमा कोरोनको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । आइतबार गुजरातमा ६७ वर्षीय वृद्धको मृत्यु भएको हो । यसको पुष्टी भारतीय स्वास्थ्य मन्त्रालयले गरिसकेको छ ।
कोरोनाबाट संक्रमित भएको वृद्धको उपचारको क्रममा आइतबार मृत्यु भएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन् ।
यद्दपी उनी मिर्गौला र दमका बिरामी समेत थिए । गुजरातमा मृत्यु हुने उनी पहिलो व्यक्ति बनेका छन् । कोरोनाबाट संक्रमित उनी रेलमार्फत दिल्ली, जयपुर हुँदै गुजरातको सूरत आएको बताइएको छ ।
सोहीकारण पनि भारतमा अहिले त्रास बढेको छ । आइतबार नै बिहारको राजधानी शहर पटनाको एम्स अस्पतालमा कतारबाट फर्किएका ३८ वर्षीय पुरुषको ज्यान गएको छ ।
कोरोना संक्रमणबाट बिहारमा मृत्यु हुने उनी पहिलो व्यक्ति बनेका छन् । उनी समेत दुबै मिर्गौला काम नलाग्ने गरी बिरामी भएका थिए ।
भारतमा आइतबार जनता कर्फ्यू घोषणा गरी सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ । यस मुलुकमा अहिलेसम्म ३४१ जना कोरोना संक्रमित मानिस भेटिएका छन् । भारतमा संक्रमण बढेपछि नेपालमा पनि सचेतना बढाइएको छ ।