भारतमा नेपाली टीमको लगातार तेस्रो जित, पुग्यो फाइनलमा

काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ को तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिम लगातार तेस्रो जित निकालेको छ । बुधबार नेपालले भारतको स्टेट टिम गुजरातलाई ८ रनले पराजित गर्‍यो। जितसँगै नेपालले अन्तिम खेलअघि फाइनलमा स्थान पक्का गरेको छ। नेपालले शुक्रबार समूहको अन्तिम खेलमा बरोडासँग खेल्नेछ।

नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले ७ विकेटको क्षतिमा १७३ रन जोड्यो। गुजरातका लागि कप्तान उमंग रोहितकुमारले ४७ रन जोड्दा हर्ष देसाईले नटआउट २९ रन जोडे। बलिङमा नेपालका सोमपाल कामी, गुल्सन झा र कुशल मल्लले २–२ विकेट लिए।

बुधबार टस जितेको गुजरातले फिल्डिङ रोजेसँगै पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १८१ रन जोड्यो। नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक प्रहार गरे। दुईबीच १२५ रनको साझेदारी भयो। कुशलले ६७ रन र आसिफले ८५ रन जोडे। तर त्यसपछिका ब्याटर भने लगाातार आउट हुँदा नेपालले अन्तिममा सोचे जस्तो रन प्रहार गर्न सकेन।

यसअघि नेपालले सुरुवाती दुई खेलमा जित निकालेको थियो। पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको नेपालले मंगलबार बरोडालाई २७ रनले पराजित गरेको थियो।

गुजरातमा जारी सिरिजमा नेपालले गुजरात र बरोडासँग दुई दुई वटा टी–२० खेल खेल्नेछ। एसएमएस फ्रेन्डसिप कप २०२४ नाम दिइएको प्रतियोगिताको शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ। नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ। टी२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।