काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा समेत ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टी भएको भारतीय संचारमाँध्यमले जनाएका छन् । ६६ र ४६ वर्षका ती दुई पुरुषलाई अहिले निगरानीमा राखिएको बीबीसीले जनाएको छ । भारतमा पहिलो पटक कोरोनाभाइरसको यो नयाँ भेरियन्ट फेला परेको पुष्टि भएको हो। सङ्क्रमित व्यक्ति दक्षिण अफ्रिकाबाट आएका यात्रु हुन्। उनीहरूमा सामान्य लक्षण मात्र देखिएको छ।
विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनका कारण सङ्क्रमण हुन सक्ने उच्च जोखिम रहेको बताएको छ । भारतको राजधानी दिल्लीमा कोभिड पुष्टि भएका छ जना र महाराष्ट्रमा सङ्कलित थप छ जनाको नमुना ओमिक्रोनबाट सङ्क्रमण भएको हो कि हैन छुट्ट्याउन जीन सीक्वन्सिङ गर्न पठाइएको छ । भारतले बुधवारदेखि लागु हुनेगरी उच्च जोखिम भएका देश यूके, दक्षिण अफ्रिका, न्यूजील्यान्ड, बङ्ग्लादेश, हङ्कङ र इजरायलबाट आउने यात्रुलाई कडाइ गरेको छ।