भारतमा प्रत्येक २५ मिनेटमा गर्छिन् एक गृहिणीले आत्महत्या

business-standard

नयाँ दिल्ली । भारतमा प्रत्येक २५ मिनेटमा एक गृहिणीले आत्महत्या गर्ने तथ्य खुलासा भएको छ । त्यसो त भारत आत्महत्या बढी हुने मुलुक पनि हो । किनकी यहाँ चरम गरिबी र सामाजिक असमानताका कारण यस्ता घटना बढी हुने गरेका छन् । हालै भारतको न्याश्नल क्राइम रेकर्ड्स ब्यूरो एनसीआरबीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष देशभरि २२,३७२ गृहिणीले आत्महत्या गरेका छन् । यो तथ्यांक अनुसार दैनिक औसतमा ६१ जना वा प्रत्येक २५ मिनेटमा एक गृहिणीले आत्महत्या गर्छन् ।

सन् २०२० को तथ्याङ्कअनुसार भारतमा १,५३,०५२ आत्महत्याका घटनामध्ये १४.६ प्रतिशत गृहिणी छन् । यो सङ्ख्या आत्महत्या गर्ने कुल महिलाहरूको ५० प्रतिशतभन्दा धेरै हो। बीबीसीका अनुसार गत वर्ष त्यसअघिका वर्षभन्दा कुनै भिन्न विवरण आएको होइन। सन् १९९७ यता एनसीआरबीले पेसाका आधारमा आत्महत्याका विवरण राख्न थालेको थियो ।

त्यसयता २०,००० भन्दा धेरैले गृहिणीहरूले बर्सेनि आत्महत्या गरेको तथ्याङ्क छ। सन् २००९ मा त्यो सङ्ख्या बढेर २५,०९२ पुगेको थियो। पत्रपत्रिकामा समाचार आउँदा ती आत्महत्यालाई पारिवारिक समस्या वा विवाहसम्बन्धी विषयुसँग जोड्ने गरिन्छ। एउटा मुख्य कारण उच्च घरेलु हिंसा रहेको मानसिक स्वास्थ्य विज्ञलाई उदृत गर्दै बीबीसीले लेखेको छ । तीस प्रतिशत महिलाहरूले हालैको एक सरकारी सर्वेक्षणमा पतिबाट हिंसा खेपेको बताएका छन् ।

उनीहरूले दैनिक निरन्तर काम गर्दा वैवाहिक सम्बन्ध शोषणजस्तो हुने र माइतीले पनि त्यसको मार खेप्नुपर्ने बताएका छन् । भारतमा धेरैजसो महिला कानुनले तोकेको उमेर १८ वर्ष पुग्दापुग्दै विवाह गर्छन्। उनीहरू बुहारी र श्रीमती बनेर दिनभरि घरमा बसेर खाना पकाउने, सरसफाइजस्ता घरायसी काम गर्छन्। उनीहरूमाथि अनेकथरी प्रतिबन्ध लगाइन्छ, उनीसँग थोरै स्वतन्त्रता हुन्छ र आफ्नै पैसामा समेत निकै कम पहुँच हुन्छ।