काठमाडौं । भारतमा ताउ ते नामक चक्रवातको वितण्डा शुरु भएको छ । आइतबार आएको चक्रवातका कारण कर्नाटकामा चार जनाको मृत्यु भएको कर्नाटका राज्य संकट व्यवस्थापन अधिकारीले पुष्टी गरेका छन् । चक्रवातको असर ७३ वटा गाउँमा परेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
अहिले कर्नाटकाका ६ वटा जिल्लामा भारी वर्षा भएको खबर छ । अरब सागरमा विकसित चक्रवातबाट नेपाल समेत प्रभावित हुने देखिएको मौसमविद्को भनाई छ । यसले नेपालमा प्रत्यक्ष प्रभाव पार्न सक्ने छैन । तर, हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।
नेपालमा चक्रवातको असर सोमबारदेखि नै देखिन थाल्ने भएको छ । मंगलबार देशभर नै प्रभाव देखिने अनुमान मौसमविद्को छ । ‘ताउ ते’को प्रभाव भारतको मुम्बई, गोवा, दक्षिण कोंकण र गुजरात बढी पर्ने बताइएको छ । गुजरात क्षेत्रमा सोमबार साँझ जमीनमा ठोक्किने पूर्वानुमान त्यहाँको मौसम विभागले जनाएको छ ।