भारतमा ४० वर्ष जेल बसेर फर्केका दुर्गाप्रसादको उपचार प्रदेश सरकारले गर्ने

विराटनगर । हत्याको आरोपमा ४० वर्षसम्म भारको जेलमा बिताएका दुर्गाप्रसाद तिम्सिनाको उपचारमा प्रदेश १ सरकारले सहयोग गर्ने भएको छ । आरोप प्रमाणित नभए पनि उनी ४० वर्ष जेलमा बस्नु परेको हो । यसबारे भारतीय संचारमाध्यमसम्म खबर पुगेसँगै उनको रिहाईको बाटो खुलेको थियो । अदालतले तत्काल उनलाई जेलमुक्त गर्न आदेश दिएपछि तिम्सिना अहिले इलामस्थित घरमा आइपुगेका छन् ।

तर, उनको स्वास्थ्य अवस्था भने निकै कमजोर पाइएको छ । उनी भारतको कोलकातास्थित दमदम केन्द्रीय कारागारमा राखिएका थिए । प्रदेश १ मन आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले उनको उपचार सरकारले गर्ने जानकारी गराएका हुन् । संचारमाध्यमहरुका अनुसार दुर्गाप्रसादको उपचारको सबै खर्च प्रदेश सरकारले बेहोर्ने भएको छ ।

यसका लागि परिवारसँग समन्वय गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको उनले जानकारी दिएका छन् । मन्त्री कार्कीले भारतबाट दुर्गाप्रसादका लागि क्षतिपूर्ति दिलाउन समेत पहल गर्ने बताएका छन् । कोलकाताको उच्च अदालतले दुर्गाप्रसादको मुद्दामा फैसला गर्दै क्षतिपूर्ति दिन सरकारका नाममा आदेश दिइसकेको छ ।