भारतले पाकिस्तानमा थाल्यो हवाई आक्रमण, कम्तीमा ३० जनाको मृत्यु

A flare goes up in air over the hill near main town of Poonch district, on May 7, 2025. India said on May 7 it carried out "precision strikes at terrorist camps" inside Pakistan and Pakistani-controlled Kashmir, days after it blamed Islamabad for a deadly attack on the Indian side of the contested region. (Photo by Punit PARANJPE / AFP)


नयाँ दिल्ली । पहलगाम आक्रमणको १५ दिनपछि भारत सरकारले पाकिस्तानमा मिसाइल हमला गरेको छ । भारतीय सेनाका अनुसार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरका आतंकवादी क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरिएको हो । यो आक्रमणलाई भारतीय सेनाले ‘अपरेशन सिन्दूर’ नाम दिएको छ ।

भारत सरकारले जारी गरेको बयानमा भनिएको छ, ‘यस अपरेशनमा पाकिस्तान र पाकिस्तानद्वारा कब्जा गरिएको कश्मिरमा रहेका आतंकवादी संरचनालाई निशाना बनाइएको छ, जहाँबाट भारतमाथि आतंकवादी हमलाको योजना बनाएर कार्यान्वयनमा ल्याइएको थियो ।
भारतीय अनलाइन द भाष्करका अनुसार भारतले आतंकवादीहरुलाई लक्षित गरी मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरमा एयरस्ट्राइक गर्दा ३० जनाको मृत्यु भएको जनाएको छ ।

रोयटर्स समाचार एजेन्सीका अनुसार पाकिस्तानका सीमावर्ती क्षेत्रहरुमा गोलाबारी र विष्फोटका रिपोर्टहरु आएका छन् । भारत र पाकिस्तानबीचको सम्बन्ध २२ अप्रिलमा जम्मु–कश्मिरको पहलगाममा पर्यटकहरूमाथि भएको हमलापछि तनावपूर्ण भएको छ । सो हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । सो आतंकवादी आक्रमणमा पाकिस्तानले सघाएको र युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप भारतले लगाएको छ ।

भारतीय सेनाले एक्स अकाउन्टमा लेखेको छ– पाकिस्तानले फेरि एकपटक युद्धविराम सम्झौताको उल्लङ्घन गरेको छ । भारतीय सेनाले यसको उचित तरिकाले जवाफ दिइरहेको छ ।’ भारतले नौ स्थानमा आक्रमण गरेको भनिए पनि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाँच स्थानमा आक्रमण भएको एक्स अकाउन्टमा लेखेका छन् ।