भारतले ‘युथ एण्ड थ्रो’ प्लाष्टिकको उत्पादन, बिक्रि र प्रयोगमा लगायो रोक

नयाँ दिल्ली । भारतले एकल प्रयोग हुने (यु एण्ड थ्रो) प्लाष्टिकका सामान उत्पादन, बिक्री र प्रयोग निधेष गरेको छ । प्लास्टिक फोहोर व्यवस्थापन नियमावली अन्तर्गत एकल प्रयोगका प्लाष्टिकका वस्तुमा जुलाई १ बाट प्रतिबन्ध लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । थर्मोकोल प्लेट, कप, चस्मा, काँटा, चम्चा, चक्कु, स्ट्र, ट्रे, मिठाईको बक्समा र्‍यापिङ गर्ने फिलिम, निमन्त्रणा कार्ड, चुरोटको प्याकेटका लागि फिल्म, प्लाष्टिकको झण्डा, बेलुन स्टक र आइसक्रिमका स्टिकहरू आजदेखि प्रयोगमा ल्याउन पाइने छैन ।

डिसेम्बर ३१, २०२२ सम्म प्लास्टिक बोक्ने झोलाको न्यूनतम मोटाई अवस्थिति ७५ माइक्रोनबाट १२० माइक्रोनमा परिवर्तन गरिने भारत सरकारको तयारी छ । एकल प्रयोग हुने प्लाष्टिकको प्रयोग उन्मूलन गर्ने उद्देश्यले बाक्लो क्यारी ब्याग ल्याइनेछ। प्रतिबन्धलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न राष्ट्रिय र प्रदेश स्तरमा कन्ट्रोल रुमहरू स्थापना गरी प्रतिबन्धित एकल प्रयोगका प्लास्टिक वस्तुहरूको अवैध उत्पादन, आयात, वितरण, बिक्री वितरण नियन्त्रण गर्न अधिकारीहरूको टोली खटाइने भएको छ ।

सरकारले प्लाष्टिकको झोलाको मोटाईको मापदण्ड तोकेर खुद्रा बिक्रेताले झोला उपलब्ध गराउन अनिवार्य गरेको छ। प्लास्टिक प्रदूषण रोक्न सार्वजनिक स्थल, राष्ट्रिय सम्पदा, वन तथा समुद्री तटमा सरसफाई अभियान सुरु गरिएको छ । देशभर करिब एक सय स्मारक समावेश गरिएको छ। जुलाई १ गतेदेखि प्रतिबन्धित वस्तु प्रयोग गर्ने सर्वसाधारणलाई ५ सयदेखि २ हजार रुपैयाँसम्म जरीवाना हुने समाचारमा उल्लेख छ ।