काठमाडौं । भारत सरकारले कोरोना खोपको निर्यात रोक्ने निर्णय गरेको छ । भारतमा बढ्दो संक्रमण र ठूलो जनसंख्यार्मा एक साथ खोप वितरण गर्नुपर्ने भएसँगै भारतले केही समयका लागि खोपको निर्यात रोक्ने निर्णय लिएको हो । यसबाट नेपालमा खोपको आपूर्ति प्रभावित हुने भएको छ । नेपालले भारतसँग खरीद गरेको १० लाख डोज खोप अझै नेपाल आएको छैन । यसबाट नेपालमा खोप अभियान रोकिएको छ ।
भारतको केन्द्रीय सरकारले मंगलबार ४५ वर्षमाथिका सबै नागरिकलाई अप्रिल १ देखि भ्याक्सिन दिने निर्णय गरेसँगै निर्यात रोक्ने निर्णय भएको भारतीय संचारमाध्यमले जनाएका छन् । द वायरका अनुसार यसअघि अर्डर लिएको डेलिभरी गर्ने तर नयाँ भने नलिने निर्णय भएको बताइएको छ ।
सेरम इन्स्टिच्युट अफ इन्डियाबाट उत्पादित कोभिसिल्ड खोप नेपालमा चलिरहेको छ । नेपालमा चीनले दिएको अनुदानको खोप आगामी साता भित्रिएपछि भने पुनः खोप अभियान सूचारु हुने छ । सेरमको खोपको ब्राजिल, साउदीसहित विश्वका धेरैजसो देशमा उच्च माग रहेको छ ।