काठमाडौं । रूसको चन्द्रमा यात्रा विफल भएपछि विश्वभरिको ध्यान भारतको चन्द्रमा यात्रामा टिकेको छ । भारतको चन्द्रयान–३ बुधबार साँझ (अगस्ट २३) ६ बजेर ४ मिनेटमा चन्द्रमाको सतहमा टेक्ने भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले जनाएको छ । इसरोले चन्द्रयान अवतरणको अन्तिम तयारीमा रहेको मंगलबार जनाएको हो । सबै सिस्टमलाई समय समयमा जाँच गरिएको र सबै सही ढंगले काम गरिरहेको इसरोको भनाइ छ ।
अहिले अनुमान गरिएको समयमा चन्द्रयान–३ विक्रमलाई अवतरणमा कुनै समस्या आए त्यसको ल्यान्डिङ समयलाई अगस्ट २७ पुर्याइने इसरोले जनाएको छ । यस विषयको अन्तिम निर्णय भने बुधबारलाई निर्धारित अवतरणको समयभन्दा दुई घण्टा पहिले लिइनेछ । भारतले चन्द्रमा मिसनका लागि २०२३ जुलाई १४ मा अन्तरिक्ष यान पठाएको हो । चन्द्रमाको कक्षसम्म पुग्ने लक्ष्य लिएर यान पठाइएको थियो ।
चार वर्ष अगाडि चन्द्रमामा अवतरण गर्ने भारतको लक्ष्य पूरा हुन सकेको थिए । अवतरण गर्ने क्रममा सन् २०१९ सेप्टेम्बर ७ का दिन अन्तिम समयमा चन्द्रयान–२ सँग भारतीय वैज्ञानिकहरूको सम्पर्क टुट्न पुगेको थियो । त्यतिबेला चन्द्रयान–२ विक्रम ल्यान्डर चन्द्रमाभन्दा २।१ किलोमिटर दूरीमा मात्रै थियो । त्यो असफलतापछि भारतले थप तयारीका साथ पुनः प्रयास गरेको हो ।
भारतले चन्द्रयान–३ पठाएको करिब एक महिनापछि रुसले ११ अगस्टका दिन लुना–२५ अन्तरिक्ष यानलाई चन्द्रमातर्फ पठाएको थियो । भारतभन्दा तीव्र रफ्तारका साथ छिटो अवतरण गर्ने लक्ष्य रुसी यानको थियो । भारत र रुसको चन्द्रमा मिसन एकैसाथ अन्तरिक्षमा सुरु भएपछि एक प्रकारले प्रतिस्पर्धा नै मानिएको थियो । तर, लुना–२५ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ ।
चन्द्रमाको दक्षिणी ध्रुवमा मानवरहित यान अवतरण गराउन रुसको सपना यस पटक रोकिन पुगेको छ । रुसले ४७ वर्षपछि चन्द्रका लागि मिसन गरेको थियो । दुई–चार दिनको फरकमा चन्द्रमाको दक्षिणी ध्रुवमै रुस र भारतको अन्तरिक्ष यान अवतरणको लक्ष्य थियो । रुसको मिसन असफल भएपछि दुनियाँभरका अन्तरिक्ष वैज्ञानिक र मिडियाको नजर भारतीय मिसनतिर सोझिएको हो ।
हालसम्म चन्द्रमाको उत्तरी या मध्य क्षेत्रमा अवतरणका लागि अन्तरिक्ष यानहरू पठाइएका छन् । तर, दक्षिणी ध्रुवमा पहिलो पटक अवतरण गर्न लागिएको हो । भारतको चन्द्रयान–३ ले सुरक्षित अवतरण गरेको खण्डमा चन्द्रमाको दक्षिणी ध्रुवमा ल्यान्ड गर्ने पहिलो देश भारत बन्नेछ । चन्द्रमाको सतहमा पुग्ने चौथो देशमा दर्ज हुनेछ ।
यसअघि अमेरिका, रुस र चीनले उक्त सफलता पाइसकेका छन् । इसरोका अनुसार विभिन्न इलेक्ट्रिक र मेकानिकल सबसिस्टम जोडिएको यो यानको उद्देश्य सुरक्षित ‘सफ्ट ल्यान्डिङ’ हो । यानसँग पठाइएको रोबरलाई चन्द्रमाको सतहमा छोड्ने र दुईतर्फी सञ्चार गर्नेलगायतका क्षमता चन्द्रयान–३ को रहेको इसरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
चन्द्रयान–३ का लागि भारत सरकारले २ सय ५० करोड बजेट खर्च गरेको छ । चन्द्रयान यात्रा सुरु भएको ३३ दिनमा चन्द्रमाको सतहमा पुग्ने लक्ष्य राखिएकामा लम्बिएर ४० दिन पुगेको थियो । चन्द्रमा पृथ्वीभन्दा ३ लाख ८४ हजार ४ सय किलोमिटर टाढा छ । भारतीय चन्द्रयान विक्रम लगभग १।६८ किलोमिटर प्रतिसेकेन्डको गतिले चन्द्रमामा अवतरणको कोसिसमा छ । इसरोका वैज्ञानिकका अनुसार चन्द्रयान–३ लाई चन्द्रमाको सतहमा अवतरण गर्न १५ देखि १७ मिनेट लाग्नेछ ।