भारतीय जेलबाट ४० वर्षपछि छूटे दुर्गाप्रसाद

कोलकाता । इलामका दुर्गाप्रसाद तिम्सिना ४० वर्षपछि भारतीय जेलबाट छुटेका छन् । भारतीय जेलबाट थुनामुक्त भएका इलामका तिम्सिनालाई आफन्त र वकिलले माला लगाएर स्वागत गरे । उनलाई कोलकाताको दमदम कारागारबाट निकालिएको हो ।

कारागारको सुरक्षामा खटिएका प्रहरीका अनुसार दूर्गाप्रसादले गीत गाउँथे । ‘रेशम फिरिरी’ गीत बढी समय गाउने गरेका थिए । शुक्रबार कारागारमा भएको काउन्सिलिङका क्रममा आफूले नेपाल गएर बिहे गर्ने बताएको नेपाली संचारमाध्यमले जनाएका छन् ।

दुर्गाप्रसादलाई भाई प्रकाशचन्द्रले आफ्नो साथमा लिएका हुन् । बुधबार साँझ उच्च अदालत कोलकाताबाट उनलाई प्रकाशको रोहबरमा छाड्न आदेश दिएको हो । त्यसपछि कानुनी प्रक्रिया पूरा गरेसँगै शनिबार छाडिएको हो ।


दूर्गाप्रसाद १९ वर्षको हुँदा इलामको घरबाट निस्किएका हुन् । उनलाई दार्जिलिङमा हत्या आरोपमा पक्राउ गरिएको थियो । अदालतले मानसिक स्वास्थ्य जाँच गरेर उनलाई ल्याउन भनेपनि जाँच गरेर नलगेका कारण ४० वर्षसम्म उनी विनासुनुवाइ भारतीय जेलमा बस्न बाध्य भएका हुन् ।