काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निकट भविश्यमा नेपाल भ्रमणमा आउने जानकारी गराएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको ग्लास्गोमा भएको भेटमा मोदीले यस्तो जानकारी गराएका हुन् । दुई नेताबीच मंगलबार औपचारिक भेटवार्ता भएको हो । दुबै मुलुकले प्रधानमन्त्रीलाई एक अर्काको मुलुकमा भ्रमणको निम्तो दिएका थिए ।
ग्लास्गोमा आयोजना भैरहेको संयुत्त राष्टसंघीय संरचना महासन्धी पक्ष राष्टहरुका २६ औँ सम्मेलनको वल्र्ड लिडर सम्मेलनमा भाग लिने क्रममा दुई देशका प्रधानमन्त्रीबीच भएको साइडलाइन भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी गराए । मोदीले समेत छिट्टै नेपाल भ्रमणमा आउने बताएका हुन् ।
केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारका पालामा नेपाल भारत सम्बन्ध बिग्रिएको छ । सो सम्बन्धलाई प्रधानमन्त्री देउवाले सुधार गर्न चाहेका छन् । भेटवार्तामा नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो र प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो ।
भेटवार्तामा दुई देशबीचको सहयोगात्मक सम्बन्धलाई अझ बढाउने विषयमा समेत कुराकानी भएको समेत बताइएको छ । भेटमा प्रधानमन्त्री देउवाले नेपालमा हाल रासायनिक मलको अभाव भएको जानकारी भारतलाई गराएका थिए । कोभिड महामारीमा समेत द्धिपक्षीय सहायता अझ बढाउने समझदारी भएको छ ।