भारतीय सेनाध्यक्ष काठमाडौंका पर्यटकीय स्थलको भ्रमणमा व्यस्त

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिँदै

काठमाडौं । तीन दिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौं अवतरण गरेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पहिलो दिन काठमाडौंका पर्यटकीय तथा धार्मिक स्थलको भ्रमणमा रमाए । भारतीय वायु सेनाको जहाज चढेर काठमाडौं आएका उनी त्यहाँबाट सिधै सोल्टी होटल पुगेका थिए ।

त्यसपछि उनी काठमाडौंका धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा निस्किए । सर्वप्रथम उनी पत्नी विनासँगै वसन्तपुर पुगेर कुमारीको दर्शन गरेका थिए । त्यहाँ उनलाई नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीले कडा सुरक्षा व्यवस्था मिलाएका थिए । उनले बसन्तपुर क्षेत्रको चाखपूर्वक भ्रमण गरे । त्यसपछि भने उनी पशुपतिनाथ मन्दिर दर्शनमा पुगेका छन् ।

उनलाई सैनिक प्रहरीले कडा सुरक्षा व्यवस्था मिलाएको छ । नरवणेको नेपाल भ्रमणको मुख्य कार्यक्रम भने बिहीबार आयोजना हुँदैछ । उनलाई राष्ट्रपति भवन शितलनिवासमा नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिने छ । सोही दिन उनले समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नेछन् ।

शुक्रबार बिहान उनी आर्मी स्टाफ कलेज शिवपुरी पुगेर त्यहाँ तालीम लिइरहेका सैनिकसँग अन्तरक्रियाको कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताको कार्यक्रम समेत सोही दिन राखिएको छ । उनी शुक्रबार नै स्वदेश फर्कने छन् ।