काठमाडौं । भारतीय स्थल सेनाअध्यक्ष मनोज पाण्डे १९ भदौमा नेपाल भ्रमणमा आउने भएका छन् । उनी ५ दिने भ्रमणमा नेपाल आउन लागेका हुन् । नेपाल–भारत दुवै मुलुकका सेना प्रमुखलाई एकअर्काको मुलुकमा मानार्थ महारथीको सम्मान दिने परम्परा अनुसार उनी नेपाल आउन लागेका हुन् । उनी नेपाली सेनाको मानार्थ महारथीको सम्मान पाउने १९ औं भारतीय सैन्य अधिकारी हुन्छन् ।
पाण्डेले नेपाल भ्रमणका बेला काठमाडौंका ऐतिहासिक सम्पादा र पशुपतिनाथको पनि दर्शन गर्ने कार्यक्रम छ । नेपाली सेनाका अनुसार सन् १९५० देखि नेपाल र भारतबीच एकअर्काको देशमा मानार्थ महारथीको सम्मान दिने चलन रही आएको छ । तत्कालीन भारतीय सेनाध्यक्ष जनरल केएम करिअप्पाले नेपालमा आएर पहिलो पटक मानार्थ महारथीको सम्मान लिएका थिए ।