भारतीय सेनालाइ आफ्नो देश छोड्न माल्दिभ्सका राष्ट्रपतिको आह्वान


काठमाडौं/ बिबिसी। गत महिना माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित ‘चीननिकट’ भनी चिनिएका नेता मोहम्मद मुइज्जुले भारतीय सेनालाई आफ्नो देश छाड्न आग्रह गरेका छन्।

“माल्दिभ्सको भूमिमा हामी कुनै पनि विदेशी सैन्य उपस्थिति चाहँदैनौँ… मैले माल्दिभ्सका जनतालाई यो वाचा गरेको थिएँ र पहिलो दिनदेखि नै म यो वाचामा प्रतिबद्ध छु,” बीबीसीसँगको एक अन्तर्वार्तामा उनले भनेका छन्।

आगामी नोभेम्बर महिनामा राष्ट्रपतिको शपथ लिने तयारीमा रहेका नेता मुइज्जुले गत महिनाको निर्वाचनमा आफू विजयी भएको केही दिनमै भारतीय राजदूतलाई भेटी “यहाँ भएको हरेक भारतीय सैनिक हटाइनुपर्नेबारे स्पष्टसँग कुरा गरेको” बताएका छन्।

माल्दिभ्समा लामो समयदेखि भारतीय प्रभाव रहँदै आएको छ र मुइज्जुको अडानले दुई देशहरूबीच कूटनीतिक तनाव उत्पन्न हुने सम्भावना देखिएको छ।
गत महिना मुइज्जु निर्वाचित हुँदा भारतलाई ‘झड्का’ लागेको मानिएको थियो। उनका प्रतिद्वन्द्वी तथा सत्ताबाट हट्न लागेका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले सन् २०१८ मा सरकार सम्हालेदेखि नै आफ्नो देशलाई दिल्लीनिकट बनाएका थिए।

मुइज्जुलाई समर्थन गरेको गठबन्धनले सोलिहको ‘भारत पहिले’ नीतिबाट बलियो बनेको माले र दिल्लीबीचको सम्बन्धलाई माल्दिभ्सको सार्वभौमिकता र सुरक्षामाथिको चुनौतीका रूपमा लिएको थियो।

बरु उनको गठबन्धनले चीनसँगको निकट सम्बन्धलाई प्राथमिकता दिएको छ।

चीनले माल्दिभ्समा पूर्वाधार एवं विकास आयोजनामा ऋण तथा अनुदानका रूपमा करोडौँ डलर लगानी पनि गरेको छ।

हुन त हिन्द महासागरको मुख्य अंशमाथि निगरानीका लागि रणनीतिक महत्त्वको स्थानमा अवस्थित यस टापु राष्ट्रमा प्रभाव राख्न चाहने भारतले पनि माल्दिभ्सलाई करिब २ अर्ब अमेरिकी डलर विकास सहायता प्रदान गरेको छ।

यदि भारतीय सेनालाई माल्दिभ्स छाड्न बाध्य पारियो भने त्यो दिल्लीमाथि एक धक्का हुनेछ।

भारत सरकारले माल्दिभ्सलाई सन् २०१० र १३ मा ‘उपहार’का रूपमा प्रदान गरेको दुई वटा हेलिकप्टर र सन् २०२० मा दिएको एउटा सानो विमानमाथिको तत्कालिक प्रतिक्रियाले ‘इन्डिया आउट’ अभियानलाई ठूलो सहयोग पुर्‍याएको थियो।

दिल्लीका अनुसार ती हेलिकप्टर तथा विमान खोज तथा उद्धार अभियान र चिकीत्सकीय प्रयोजनका लागि दिइएका थिए। तर ती हेलिकप्टर तथा विमानको सञ्चालन र मर्मतसम्भारका लागि भन्दै ७५ भारतीय सैनिक पनि माल्दिभ्समै बसेको सन् २०२१ मा माल्दिभ्सको सुरक्षा बलले जानकारी दिएको थियो।

यसपछि भारतले सुराकीका लागि तिनलाई त्यहाँ राखेको र हेलिकप्टर तथा विमानलाई भारतीय सैनिकलाई त्यहाँ राख्ने बहानाका रूपमा मात्र प्रयोग गरिएको आशङ्का उत्पन्न भएको थियो। मानिसहरू यसप्रति क्रोधित थिए।

मुइज्जु पनि यी सैनिकहरूको उपस्थितिले माल्दिभ्सलाई जोखिममा राख्ने बताउँछन्। विशेषतः भारत र पाकिस्तानबीच हिमाली क्षेत्रको सीमाबारे तनाव बढ्दा यस्तो जोखिम पनि बढ्न सक्ने उनको भनाइ छ।