काठमाडौं । भारत र पाकिस्तानबीचको एसिया कप क्रिकेटमा शनिबारको खेल वर्षाका कारण रद्द भएको छ । श्रीलंकाको क्यान्डीमा टस जितेर ब्याटिङ गरेको भारत ४८.५ ओभरमा २ सय ६६ रनमा अलआउट भयो ।
त्यसपछि वर्षाले अवरुद्ध पारेको खेल पुनः सुचारु हुन सकेन । क्यान्डीमा बिहानदेखि हल्का वर्षा भइरहेको थियो । दिउँसो घाम लाग्दा खेल समयमै सुरु हुन सकेको थियो । भारतको ब्याटिङका क्रममा पटक–पटक सिमसिमे वर्षाले खेल अवरुद्ध पारेको थियो । तर, पहिलो इनिङ्सपछि भने वर्षाले खेल पुनः हुन सकेन ।
यसले पाकिस्तानलाई फाइदा पुगेको छ । नेपाललाई बुधबार प्रतियोगिताको उद्घाटन खेलमा २ सय ३८ रनले पराजित गरेको पाकिस्तान सुपर फोरमा प्रवेश गरेको छ । भारत र नेपालबीच सोमबार हुने खेलले समूह ‘ए’ बाट सुपर फोरमा पुग्ने अर्को टोलीको टुंगो लगाउने छ । भारतलाई त्यो खेल बराबरीको नतिजा पनि काफी हुन्छ भने नेपाललाई जित्नैपर्छ ।
तीव्र बलर शाहिन शाह अफ्रिदीले पालेकेले क्रिकेट रंगशालामा सानदार बलिङ गरेपछि पाकिस्तानले उत्कृष्ट सुरुआत गरेको छ । अफ्रिदीले भारतीय कप्तान रोहित शर्मालाई ११ र विराट कोहलीलाई ४ रनमा बोल्ड गरेपछि भारतले पूरा इनिङ्स दबाबमा खेल्नुपरेको थियो ।
टोलीमा फर्किएका श्रेयस ऐर १४ र ओपनर शुभमन गिल १० रनमा आउट भएपछि भारत ६६–४ को स्थितिमा पुगेको थियो । इशान किसन र हार्दिक पाण्ड्येले पाँचौं विकेटमा १ सय ३८ रनको साझेदारी गरेपछि भारतको स्कोर बलियो बनेको थियो । किसनले ८१ बलमा ८२ र पाण्ड्येले ९० बलमा ८७ रन बनाए । किसनले ९ चौका र २ छक्का तथा पाण्ड्येले ७ चौका र १ छक्का प्रहार गरे ।
किसनलाई ३८ ओभरमा हरिस रउफले आउट गरेपछि भारतको पुनः विकेट झर्नेक्रम सुरु भयो । रवीन्द्र जडेजा १४, शार्दुल ठाकुर ३, कुलदीप यादव ४, जसप्रित बुमराह १६ रन बनाएर आउट भए । देव्रेहाते अफ्रिदीले १० ओभरमा २ मेडन राख्दै ४ तथा नसिम शाह र रउफले ३–३ विकेट लिएका थिए ।